उपचारको नाममा धर्म प्रचार गर्न पाईदैन


नेपाल समाचारपत्र, काठमाडौं ।

ललितपुरको गोदावरी नगरपालिका–६, टिकाभैरबस्थित आनन्दवन अस्पतालमा पुगेर हिन्दुवादी विभिन्न संघ संस्थाहरुले अनुगमन गरेको छ । नेपाल समाचारपत्रले जेठ २८ गते यस अस्पतालमा इसाई धर्म प्रचार गरेको आशयको समाचार प्रकाशित गरेपछि उनिहरु अनुगमनका लागि त्यहाँ पुगेका हुन ।

द लेप्रोसी मिसन नेपालले संचालन गरेको उक्त अस्पतालमा शिव सेना नेपाल, सनातन गोरक्ष राष्ट्र नेपाल (सगोरा नेपाल)लगायतका हिन्दुवादी विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

शनिवार भएको अनुगमनका क्रममा समाचारमा आएको विषयमा कर्मचारीसँग कुरा गर्दा शंका लागेर विरामी राख्ने वार्डमा छिर्दा इसाई धर्म प्रचारका सामाग्री भेट्टिएको शिव सेना नेपालका केन्द्रिय सदस्य मनोज सापकोटाले बताउनुभयो ।

‘समाचार आइसकेपछि हामीलाई असह्य भयो । अस्पताल पुगेर हेर्दा सत्य सावित भयो ।’, उहाँले भन्नुभयो ।

नेपाली धर्म सँस्कृति, भाषा सक्काउन पश्चिमा देशहरुले उपचारको नाममा धर्म परिवर्तन गर्न धावा बोलिरहेको भन्दै उहाँले यसमा सरकारले समयमै ध्यान पु¥याउनु पर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो–‘अस्पतालको बेड÷बेडमा इसाई धर्म प्रचारका सामाग्री भेट्टिएको छ ।  अस्पतालको हरेक भित्तामा बाइबलको सन्देश लेखिएको छ । यो गलत हो । यसो नगर्न हामीले सचेत गरायौँ ।’

त्यस्तै सगोरा नेपालका संरक्षक अर्जुन रानाले  रोग निको हुने भन्दै धर्म प्रचारका सामाग्री वितरण गर्ने गरेको देखिएको बताउनुभयो ।

‘विरामीको बेड मुनि राखीएको धर्म प्रचारको सामाग्री हामीले बरामद गरेका छौँ । हामीले जिल्लाको प्रशासन प्रमुख, जनप्रतिनिधिलाई सचेत गराउँछौँ ।’, उहाँले भन्नुभयो ।

धर्मान्तरण, मौलिक सँस्कृति माथिको अतिक्रमण गर्ने खेल मैदानको रुपमा उक्त अस्पताललाई प्रयोग गर्न नदिने उहाँको भनाई छ ।

उहाँले प्रशासन तर्फ प्रश्न तेर्साउँदै उहाँले भन्नुभयो–‘उपचारको नाममा प्रचार सामाग्री बाँढ्दै धर्म परिवर्तन गराउने आसयले काम गर्न मिल्छ ?’

कसैलाई लोभ लालच देखाएर धर्म परिवर्तन गर्न नहुने भन्दै संलग्नलाई कारबाही हुने प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताउनुभयो ।

‘धर्म परिवर्तन गराउनु फौजदारी अपराध हो । संलग्नलाई अनुसन्धान पछि कारबाही गर्छौँ ।’, उहाँले भन्नुभयो ।