साङवारीमा ठडियो सामुदायिक भवन


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
भूकम्पमा भत्किएका नीजि आवास पुननिर्माण सँगसँगै गाउँबस्तिमा सामुदायिक भवन संरचना निर्माणको कामले तीव्रता पाएको छ । भूकम्प प्रभावित गाउँबस्तिमा धमाधम सामुदायिक भवनहरु पनि निर्माण भइरहेका छन् ।

बाह्रविसे नगरपालिका ८ स्थित साङबारीमा भव्य सामुदायिक भवन ठडिएको छ । शनिवार एक समारोहबीच बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सामुदायिक भवनको उद्घाटन गर्नुभयो । गुरुङ समुदायको बसोबास रहेको साङवारीमा सामुदायिक भवन बनेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । नगरपालिकाको सहयोगमा गाउँमै भव्य सामुदायिक भवन बनेपछि स्थानीयवासीमा खुसी छाएको हो । नगरपालिकाबाट २५ लाख रुपियाँ विनियोजन गरेको थियो । तर २५ लाखमै यति सुन्दर, भव्य सामुदायिक भवन निर्माण सम्पन्न गर्न सम्भव भने थिएन ।

भवन निर्माणका लागि जग्गाजमिन नै थिएन । नगरपालिकाले सामुदायिक भवनका लागि बजेट छुट्याएपछि स्थानीय बखतबहादुर गुरुङ र पूर्णकुमारी गुरुङले जग्गा उपलव्ध गराए, अन्य स्थानीय श्रमदानमा जुटे । नगरपालिकाको बजेट र स्थानीयको श्रमदानबाट साङवारी सामुदायिक भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष सुरज लामाले बताउनुभयो ।

भवन उद्घाटन समारोहमा बोल्दै मेयर निमफुञ्जो शेर्पाले नीजि आवास धमाधम निर्माण भइरहँदा गाउँबस्तिमा सामुदायिक भवन पनि आवस्यक भइरहेको बताउनुभयो । ‘भेला, बैठकका लागि गाउँबस्तिमा सामुदायिक भवन आवस्यक छ’, भूकम्पका बेला खुला चौरमा रात कटाएको सम्रण गर्दै मेयर शेर्पाले भन्नुभयो, ‘विपदका बेला यहि सामुदायिक भवन स्थानीयवासीका लागि आश्रय बन्नेछ ।’