प्रहरीलाई ढुंगामुढा गरी लागूऔषधसहित भाग्न खोज्ने पक्राउ


धनवीर दाहाल, रुकुम ।
बिशेष सुचनाको आधारमा लागु औषध अफिम भएको भनि खानतलासी गर्दा प्रहरीलाई ढुंगामुढा गरी भाग्न खोज्ने एक जनालाई लागु औषध अफिम सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम आठबीसकोट नगरपालिका १ रोकाजाका ३५ वर्षीय मनबहादुर बुढा रहेका छन् । उनी ३ किलो ८ सय ५० ग्राम अफिम सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

आठबीसकोट नगरपालिका–१४, छेपारेबाट शनिबार बिहान पौने ९ बजे बुढा अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । डिएसपी खड्काका अनुसार प्रहरीले सोधपुछ गर्ने क्रममा बुढाले उल्टै प्रहरीमाथि हातपात तथा ढुङ्गा प्रहार गरी भाग्न खोजेका थिए ।

बुढा भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाई फायर समेत गरेको थियो । अफिमसहित बुढा प्रहरी नियन्त्रणमा आए पनि अन्य ४ जना शंकास्पद भने भागेका प्रहरीले जनाएको छ । अफिमसहित भाग्न खोजेपछि बुढालाई हवाई फायर गरेर नियन्त्रणमा लिइएको डिएसपी खड्काले जानकारी दिनुभयो ।

प्रहरीले बुढाको साथबाट ९ नौ हजार नेपाली रुपैयाँ, एक थान टर्च लाइट, दुई थान मोबाइल सेट र एक थान मुङ्गाको जस्तो देखिने मालासमेत बरामद गरेको जनाएको छ ।