प्रदेश–३ नेकपा संसदीय दलको बैठक: राजधानी टुंगो लगाउन सुझाव


हेटौंडा,(नेस) ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–३ को संसदीय दलको बैठकमा सांसद्हरुले प्रदेशको स्थायी राजधानीको विषय छिटो टुंगो लगाउन माग गरेका छन् । प्रदेशसभा गठन भएको डेढ वर्ष बित्दा पनि राजधानी र नामाकरणको विषय नटुङ्ग्याइएको भन्दै नेकपाका सांसद्हरुले आफ्नै सरकारविरुद्ध असन्तुष्टि व्यक्त गरेका हुन् ।

मंगलबार १० जना सांसद्मध्ये अधिकांशले राजधानी र नामाकरणको विषय टुङ्गो लगाउनुपर्ने माग गरेका थिए । प्रदेश सरकारले बजेट प्रस्तुत गर्नु भन्दा अगाडि वा पछाडि राजधानीको प्रक्रिया सुरु हुने नेकपा प्रदेश मुख्य सचेतक रामेश्वर फुँयालले बताउनुभयो ।

प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेकोले कांग्रेससँगको निरन्तर वार्ता र छलफलबाट निकास निकालिने र संसद्को अवरोध हटाउने तयारी भएको उहाँले बताउनुभयो । संसदीय दलको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ का लागि ल्याइने नीति तथा कार्यक्रम र बजेटमा कुनकुन कुरालाई प्राथमिकता दिने भन्ने विषयमा छलफल भएको थियो ।

सहभागी सांसद्ले समाजबादउन्मुख, उत्पादन र रोजगार सृजना गर्ने खालको बजेट ल्याउन सुझाव दिए । बैठकमा गत वर्षको बजेट कार्यान्वयन हुन नसकेको विषय, राम्रा विषय प्राथमिकतामा पर्न नसकेकोलगायतमा सांसद्हरुले सुझाव दिएका थिए ।

नेकपा प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षतामा बसेको बैठकमा नेकपाका प्रदेश इञ्चार्ज तथा सांसद् अष्टलक्ष्मी शाक्य, मुख्य सचेतक फुँयाल, प्रदेशका मन्त्रीहरु लगायत अधिकांश सांसद् सहभागी थिए । ३१ जना सांसद्ले बोल्न नाम टिपाएका छन् । संसदीय दलको बैठक बुधबार पनि बस्ने छ ।