भूमिसुधार अधिकारीसहित तीनजनाविरुद्ध मुद्दा


काठमाडौं, भूमिसुधार कार्यालय, पर्साका भूमिसुधार अधिकारी गमबहादुर विकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

तत्कालीन भूमिसुधार कार्यालय, पर्साका भूमिसुधार अधिकारी विक, तामेलदार प्राणनाथ कसजु र नक्कली मोही बनी बाँडफाँटको लागि निवेदन दिने नगेश्वर राउत कुर्मीविरुद्ध मुद्दा दायर भएको हो।

साविक बारा जिल्लाको नगवा गाविस ५ को कित्ता नम्बर ११२ र ११३ जग्गाको मोहीको लगत सम्बन्धी तीन नम्बर अनुसूची साथै नकटुवा गाविस २ को कित्ता नम्बर ५६ को जग्गाको मोहीको लगत सम्बन्धी १,२ र ३ नम्बर अनुसूची सच्याउने तथा थपघट गर्ने कार्य गरेको अख्तियारले जनाएको छ ।