धुलिखेल नगरपालिकाको सहयोग, प्रहरी कार्यालयलाई १० वटा टेलिभिजन


मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई टेलिभिजन उपलब्ध गराएको छ ।

प्रहरी कार्यालयका हिरासत कक्ष, जवान कक्ष, जुनियर प्रहरी अधिकृत कक्ष, अधिकृत कक्ष र वेटिङ्ग कक्ष समेतलाई पुग्ने गरी नगरपालिकाले ३२ इन्चका रगिन पर्दा भएका १० वटा टेलिभिजन उपलबध गराएको हो । प्रति टेलिभिजनको मुल्य १८ हजार रहेको छ ।

धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले देशभर रहेका प्रहरी हिरासत कक्षहरुलाई प्रविधि मैत्री र मनोरञ्जनका हिसावले पनि उपयुक्त बनाउन धुलिखेलमा रहेको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा टेलिभिजन प्रदान गरिएको बताउनु भयो ।

‘कुनै न कुनै कारण हिरासतमा रहनु पर्दा गलत सोच हावी हुन नदिन टेलिभिजनले सहजता प्रदान गरोस्’–प्रमुख ब्याञ्जुले भन्नुभयो–‘टेलिभिजन मार्फत उपलब्ध हुने सेवाले जीवन प्रति नैराश्यता नवढाओस् ।’ १० वटा टेलिजिनले प्रहरी कार्यालयका सबै कक्षहरुमा मनोरञ्जन प्रदान गर्नेछ ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले धुलिखेलमा निर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन गरेको अवसरमा बैशाख २५ गते बुधबार मात्रै नगर प्रमुख ब्याञ्जुले भवनहरुको अवलोकन पश्चात टेलिभिजन उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । यो सहयोगले समुदाय प्रहरी कार्यक्रममा थप टेवा पुग्ने विश्वास ब्यक्त गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले धुलिखेल नगरपालिकालाई धन्यवाद दिदै नेपालमै पहिलो पटक स्थानीय सरकारले हिरासत कक्षलाई प्रविधिमैत्री बनाउन हिरासतमा रहेका ब्यक्तिहरुको जीवनमा उर्जा प्रदान गर्ने उदेश्यले टेलिभिजन प्रदान गरेकोमा सदुपयोग हुने बताउनु भयो । ‘यसको सदुपयोग हुनेछ, जिल्ला प्रहरी कार्यालय काभ्रे भित्र रहेका सबै भवनहरुमा यो सुविधाले मनोरञ्जन सहित उर्जा प्राप्त गर्नेछ’– एसपी रविराज खड्काले भन्नुभयो ।

कार्यक्रममा विष्णु दल गण धुलिखेल नेपाली सेनाका सेनानी श्रीकृष्ण पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी दिपक गिरी, नेपाल पत्रकार महासघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, समाजसेवी रामकृष्ण हुमागाई, राष्ट्रिय अनुसन्धानका डिएस्पी सरोज निरौला, प्रहरी निरिक्षक दिपक राय, नगरपालिकाका लेखा प्रमुख धनबहादुर बस्नेत, वडा अध्यक्ष विष्णु धिताल, जनप्रतिनिधिहरु, कर्मचारीहरु, प्रहरी अधिकृतहरु लगायतको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सुविधा सम्पन्न ५ वटा भवन संचालनमा ल्याएको छ ।