लालबाबु भन्दा भ्रष्ट अधिकृत ‘पावरफुल’

0
Shares

हेमन्त पौडेल, धनगढी
जोशीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा आर्थिक अनियमितता गरेको भन्दै नारायणबहादुर विष्ट विरुद्ध अख्तियारमा मुद्धा परेको छ ।

सोही गाउँपालिकामा रहँदा पदीय दुरुपयोग गर्दै गैरकानुनीरुपमा कर्मचारी भर्ना गरेको देखि लिएर विभिन्न विकासका नाममा भ्रष्टाचार गरेको भन्दै गत महिना अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगर, जिल्ला प्रशासन कैलाली लगायतमा मुद्धा दर्ता गरि अन्य सरोकारवाला निकायमा बोदार्थ पठाइएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्टले गैरकानुनीरुपमा काम गरेको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डितको निर्देशनमा बैशाख पहिलो साता मन्त्रालयमा तानेको थियो ।

तर विष्टले मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासनका प्रमुख रुद्र तामाङलाई हातमा लिएर एक महिना नहुँदै कैलालीकै जानकी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराईलाई मन्त्रालय तान्न लगाएर आफू आएका छन् । आर्थिक चलखेलमा माहिर मानिने विष्टले यस पटक पनि जोशीपुरबाट सरुवा नगराउन ठूलै कसरत गरेका थिए तर सर्वत्र विरोध भएपछि उनी मन्त्रालय गएका थिए । मन्त्रालयमा पिएन देखि सचिवसम्म सवैसँग लाईन मिलाएको छु मलाई कसले सरुवा गर्नसक्छ भन्दै फुर्ति लगाउँदै हिड्ने गरेका थिए ।

गत वर्ष पनि उनले गाउँपालिकामा गरेको काम कार्वाहीबाट असन्तुष्ट रहेको स्थानी बासिन्दा तथा केही जनप्रतिनिधिले सरुवाको माग गरेका थिए । स्थानीयको विरोधपछि मन्त्रालयले सरुवा गरेपनि कैलाली क्षेत्रनं २ का सांसद झपट रावल र कञ्चनपुरकी सांसद निरुदेवी पालको दवावमा सरुवा रद्ध भएको थियो । पाल विष्टकी जेठी सासु हुन ।

शक्तिको आडमा गलत काम गर्दै आएपनि उनलाई कार्वाही भन्दा पनि प्रोत्साहन हुँदै आएकाले उनको मनोबल बढ्दै गएको हो । गत वर्षपनि विभिन्न योजनाहरुमा विल मिलाएर रकम अनियमितता गरेका विष्टले यस पटक झन अनियमितता गरेको आरोप लागेको छ । आफूलाई नेपाली काँग्रेस निकट भएको बताउने विष्टको संरक्षण एमालेका नेता तथा सांसदहरुबाटै संरक्षण हुने गरेको पाएपछि स्थानीय जनता पनि निकै सशंकित बनेका थिए । गलत काम गर्नेलाई कार्वाही गर्नुको साटो साँसद रावल लगायतका नेताले किन प्रोत्साहन गरेको भन्दै स्थानीयले प्रश्न उठाएका थिए ।

जोशीपुर गाउँपालिकाका केही जनप्रतिनिधिले उनको चरित्रमाथि पनि प्रश्न उठाउने गरेको थिए । उनको गतिविधि ठिक लाग्दैन उनको दृष्टिकोण ठिक छैन –एक महिला जनप्रतिनिधिले भनिन् । पछिल्लो समयमा केही जनप्रतिनिधिहरुलाई आफ्नो हातमा लिएर गाउँपालिकामा ब्रम्हलुट मच्चाउन लागेको थिए तर यो कुरा स्थानीयले यो कुरा थाहा पाएपछि त्यसको विरुद्धमा अख्तियारमा मुद्धा हालेका हुन । विष्ट विरुद्ध धेरै आरोप लागेर मुद्धा परेकाले त्यसको अनुसन्धान सुक्ष्मरुपमा भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका हरिशचन्द्र जोशीले बताउनुभयो । अख्तियारको दुरुपयोग गर्ने जो कोहीलाई पनि नछोडिने उहाँले बताउनुभयो । कर्मचारी अभावमा केही समय ढिलाई भएको छ त्यसको अनुसन्धा अब शूरु गर्छौ –जोशीले भन्नुभयो ।

जोशीपुरबाट मन्त्रालय तानिएका विष्ट कैलालीकै जानकीमा शरुवा भएको पत्र आफै लिएर आएका थिए । उनी यस भन्दा पहिला पनि जानकी गाउँपालिकामा आउन चाहेका थिए तर जनप्रतिनिधिले तिब्र विरोध गरेपछि उनी भजनी सरुवा भएका थिए । यस पटक पनि विरोध हुने थाहापाएपछि गाउँपालिका अध्यक्ष प्रदीप चौधरीसंग मिलेर आइतवार विहान सात बजेनै कार्यालय पुगेर हाजिर लगाएका छन् । उनको विवादास्पद छविका कारण जनप्रतिनिधिहरु पनि संकटमा पर्ने भएका छन् ।

आफैले हस्ताक्षर गर्नुपर्ने कागजपत्रमा पनि अध्यक्ष वा अन्य जनप्रतिनिधिलाई समेत हस्ताक्षर गर्न लगाएर आफू जोगिने प्रयासमा लाग्ने गरेका छन् । जोशीपुरमा हुँदा आफ्नो ब्यक्तिगत खर्च गर्दापनि प्रमुख जिल्ला अधिकारीको स्वागतमा खर्च गरेको, अख्तियारका कर्मचारीलाई खाजा खुवाएको भन्दै बिल भर्पाइ गराएर पैसा खाने गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरमा परेको उजुरीमा गाउँपालिकामा हरेक काम गर्दा कमिशन माग्ने र कमिन नदिएमा अनेक बाहानामा सेवाग्रहीलाई दुःख दिने गरेको, हरेक योजना तथा कार्यक्रमबाट कम्तीमा १५ देखि २० प्रतिशत कमिशन लिने गरेको उल्लेख गरिएको थियो । गाउँपालिकामा कर्मचारी भर्ना गर्दा प्रक्रियानै पुरा नगरी पैसा खाएर भर्ना गर्ने गरेको ।

गाउँपालिकाको स्वास्थ्य शाखाको लागि आवश्यक औषधी खरिदमा व्यापक अनियमितता गरेको, लाख मुल्य बराकरको औषधीले पुग्ने भएता पनी ३० लाख छुट्याएर अनियमितता गरेको । गाउँपालिकामा भाडामा लगीएको गाडीको साहुलाई दैनिक ३००० (तीन हजार) को दरले मात्र बुझाउने गरेको भएता पनि गाउँपालिकाबाट दैनिक ४००० (चार हजार) बुझ्ने गरेको आरोप विष्टमाथि लागेको थियो ।

एल.जी.सि.डी.पीको कार्यक्रममा गाउँपालिकाबाट ३० प्रतिसत र एल.जी.सि.डी.वी.बाट ७० प्रतिशत, तलब पाउने गरी कर्मचारी राख्ने प्राब्धान रहेता पनि सो प्रक्रिया अनुरुप कर्मचारी राखेमा आफुले कमिशन नपाउने भएकाले विना प्रक्रिया पुरै रकम गाउँपालिकाले ब्यहोर्ने गरी कर्मचारी राखेर गाउँपलिकालाई आर्थिक भार पारेको भन्दै उनको चर्को विरोध गरिएको थियो ।

यस्तै आई.टी. अफिसर पदमा परीक्षामा अनुर्तिण भएका गाउँपालिकाका अध्यक्षको मान्छेलाई बिना प्रक्रिया भर्ना गरेको र विभिन्न समयमा कैलाली जिल्लाका विभिन्न होटलहरुमा केटी लिएर दुई तिन दिन राती बस्ने र उक्त होटलमा प्रमुख जिल्ला अधिकारी (सिडीयो), जिल्ला समन्वय समितिका संयोजक/कर्मचारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई नास्ता खाना तथा रक्सि खुवाएको भन्दै नक्ली बिलभरपाई पेश गरेर पैसा बुझ्ने गरेको भन्दै उजुरी परेको छ ।

गाउँपालिमा अमिन पदमा कर्मचारी भर्ना गर्दा दुई लाख पचास हजार रकम मागेको भन्दै गाउँ कार्यपालिकाको बैठकमा कुरा उठेको र गल्ती भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत विष्टले गल्ती गरेको भन्दै माफि मागेको समेत उजुरीमा उल्लेअ गरिएको छ ।