आफ्नो कुर्सीमा अर्कै मान्छे राखेका डिएसपी सुवास खड्कामाथि छानविन शुरु

0
Shares

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डिएसपी) को कुर्सीमा अर्कै मान्छे बसेको तस्बिरसहित समाचार सार्वजनिक भएपछि डिएसपी सुवास खड्कामाथि छानविन शुरु भएको छ ।

डिएसपी बस्ने कुर्सीमा विभिन्न अभियोग लागेका हर्क गुरुङ बसेर फोटो खिच्दै प्रहरीको मान्छे भनेर स्थानीयलाई धम्क्याएको तथा कुटपिट गरेको खुलेपछि डिएसपी खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर तानेर विभागीय छानविन शुरु गरिएको जनाइएको छ ।

डिएसपी खड्काले इलाका प्रहरी कार्यालयभित्रको आफ्नै कुर्सी सुरक्षित गर्न नसकेको र प्रहरी प्रशासनमाथि आँच आउने काम गरेकाले छानविनका लागि विराटनगर तानिएको प्रदेश प्रहरी प्रमुख डीआइजी केदार रिजाले बताएका छन् ।

यो प्रकरणमा डिएसपी खड्का दोषी देखिए प्रदेश प्रहरीले निलम्बन गरेर थप कार्वाही गर्न सक्ने पनि रिजालले बताएका छन् । यसअघि सोही इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा मेचीनगरका १५ वर्षीय किरण कार्कीढोली मृत भेटिएपछि पनि डिएसपी विवादमा तानिएका थिए । सो घटना राष्ट्रिय मानवअधिकार आयोगको छानविनमै छ ।

को हुन् डिएसपीको कुर्सीमा बस्ने ?
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी बस्ने कुर्सीमा बसेको फोटो देखाउँदै झापाका स्थानीय युवा तथा होटल सञ्चालकलाई धम्क्याउने र कुटपिट गर्दै हिंड्ने हर्क गुरुङलाई प्रहरीले आइतबार साँझ ६ बजे पक्राउ गरेको छ ।

डिएसपी सुवास खड्का बस्ने कुर्सीमा बसेको फोटो खिची ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउने र कुटपिट गर्ने गुरुङ म्यानपावर सञ्चालक रहेको र उनी भारतीय नागरिक भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले प्रहरीसँग आफ्नो घर झापाको दमकमा भएको जानकारी दिएका छन् ।
बिर्तामोडको शनिश्चरे रोडमा रहेको तेह्रथुम सेकुवा कर्नरका सञ्चालक रुद्र कन्दङवा र व्यवसायी चरिन्द्रकुमार चोम्बाङलाई कुटपिट गरेको जाहेरीका आधारमा गुरुङ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार राति गुरुङसहित १५ भन्दा बढी युवाले जन्मदिनको पार्टी गर्ने भन्दै होटलमा खानपिन गरेका थिए । खानपिनकै क्रममा उनीहरु बीच कुटपिट भएपछि होटल सञ्चालक कन्दङवाले झगडा नगर्न आग्रह गर्दा गुरुङले कोकको बोतल प्रहार गर्दै कुटपिट गरेका थिए ।

गुरुङको कुटपिट र बोतल प्रहारबाट घाइते भएका होटल सञ्चालक कन्दङवाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।