१५ दिनभित्र राजधानीलाई सुन्दर बनाइने !

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । देशकै केन्द्रीय राजधानी व्यवस्थित हुन नसकेर सरकारको आलोचना खेप्दै आएको काठमाडौ महानगरपालिकाले शहरी सौन्दर्यसंग सम्बन्धीत निकायलाई डाकेर १५ दिनभित्र देखिने गरी काम गर्न निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख एवं सचिव केदार न्यौपाने र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले काम गर्न नसक्नुको कारण समेत माग गरेका छन् ।
हिजो शुक्रबार कामपा मुख्यालयमा बैठक बोलाएर सचिव न्यौपानेले १५ दिनभित्र राजधानीलाई सुन्दर देखिने गरी काम गर्न निर्देशन दिनुभएको हो । करिब डेढ दर्जन निकायका अधिकारीलाई चालु आर्थिक वर्षको बजेटको परिधिभित्र रहेर तत्काल काम गर्न कडा निर्देशन दिनुभएको हो । निर्देशन दिने क्रममा उहाले भन्नुभयो– अब तपाईहरुले नीति बनाउने होइन, अहिलेको अवस्थामा योजना र अनुसन्धान गर्नु आवश्यक छैन १५ दिनभित्र काम गरेर देखाउनुस ।

काम गर्न आनाकानी गरिरहेका अधिकारी प्रति लक्षित गदै प्रमुख जिल्ला अधिकारी आचार्यले तत्काल महानगरपालिका क्षेत्रलाई सुन्दर बनाउन काम गर्न निर्देशन दिनुभयो ।

भन्नुभयो–तपाईहरुले काम गर्न सक्नुभएन वा नसक्नाको कारण लिखित जवाफ दिनुस हामी आफैले काम गर्नेछौ । कामपाका सचिव न्यौपाने र प्रजिअ आचार्यले सबैलाई काम गर्न कडा निर्देशन दिएका थिए । आचार्यले कुनैपनि बहानमा काम गर्नबाट पछि नहट्न आग्रह गर्नुभयो ।

कामपाले विभिन्न्न १७ एजेण्डामा छलफल गर्न डेढ दर्जन अधिकारीलाई बोलाएको थियो । सचिव न्यौपानेले कामपाभित्रको शहरी व्यवस्थापन र शौन्दर्यीकरण कायम गर्न निर्देशन दिएको जानकारी दिनुभयो । हामीले सबै निकायलाई यो आर्थिक वर्षभित्र योजना सहित तत्काल काम शुरु गर्न निर्देशन दिएका छौ ।

‘अहिलेकोअवस्थामा मुलुककै केन्द्रीय राजधानी काठमाडौलाई व्यवस्थित बनाउन र योजना सहित तत्काल काम शुरु गर्न आग्रह गरेका हौ–उहाले भन्नुभयो ।

कामपाले सडक बत्ती, उज्यालो काठमाडौ, प्लाष्टिक झोला नियन्त्रण, ट्राफिक बत्ती, सुरक्षा व्यवस्था, सडक बिस्तार, पेट्रोल पम्प व्यवस्थापन, हरियाली, करिडोर अण्डरपास निर्माण, टेलिफोन र केवल र बत्तीको खुला तार व्यवस्थापन, फोहोर व्यवस्थापन, खानेपानी पाइप व्यवस्थापन, धुलो तथा प्रदुषण नियन्त्रण,सम्पदा पुननिर्माण, व्यवस्थित वस्ती विकास लगायतका विषयमा छलफल गर्न अधिकारीलाई बोलाईको थियो ।

सो क्रममा सम्बन्धित निकायले तत्काल काम शुरु गरे नगरेको विषयमा अनुगमन गर्ने निर्णय गरेको छ । सचिव न्यौपानेले काम गर्न नसक्ने वा अटेर गर्ने निकायमाथी छानविन गर्ने जानकारी दिनुभयो ।
उहाले भन्नुभयो– तत्काल काम गर्न निर्देशन दिएका छौ, सबैले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा पुननिर्माण प्राधिकरण, महानगरीय ट्राफिक महाशाखा, नेपाल उद्योग वाणिज्य महासंघ, पुरातत्व विभाग, सडक विभाग,काठमाडौं उपत्यका खानेपानी लिमिटेड,नेपाल टेलिकम, केवल टेलिभिजन सेवा,महानगरीय प्रहरी परिसर काठमाडौ,यातायात व्यवस्था विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका प्रमुख एवं अधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्दै महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले महानगर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नया योजन अघि सार्ने तयारी गरेको बताउनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वशन्तराज कुँवरले महानगरक्षेत्रमा ट्राफिक व्यवस्थित गर्न योजना अघि बढाईने बताउनुभयो । ट्राफिकले राजधानीको विभिन्न सडकमा ट्राफि बत्ती राख्ने तयारी गरेको छ ।

सडक विभागले विभिन्न स्थानमा बसस्ट्याण्ड, जेब्राक्रस निर्माण गर्न लगायतका विषयमा जानकारी गराएको थियो । सबै निकायका अधिकारीले आफ्नो निकायले गर्ने कामको बारेमा जानकारी गराएका थिए ।

Skip This