काठमाडौं, (नेस)
सरकारले संघीय सांसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रम अघि पर्याप्त छलफल नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ह्वपि जारी गर्नु भन्दा छलफल गर्नुपर्ने माग अगाडि सारेका छन् ।
शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गर्न निर्देशन दिनुभएको थियो । २४ गते नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा आ–आफ्नो धारणा राख्न उहाँले निर्देशन दिनुभयो ।
तर सांसदहरु जनार्दन शर्मा, रामकुमारी झाक्री र सुरेन्द्र पाण्डेलगायतले नीति तथा कार्यक्रममाथि छलफल गर्न पाउनुपर्ने माग अगाडि सानुभएको हो । असन्तुष्टि जनाउने सांसदहरुले नेताको निर्देशन र व्हीप मात्रै जारी गर्न मात्र कार्य स्वीकार्य नभएको चेतावनी दिएका थिए ।
सांसद सुरेन्द्र पाण्डेले छलफल गर्न नपाइने हो भने किन बैठक बोलाएको भन्ने प्रश्न गर्नुभएको थियो । सांसद रामकुमारी झाँक्रीले दलको बैठकमा कुरा राख्न नदिने अनि जबरजस्त यो कुरामा समर्थन गर भनेर व्हीप जारी गर्न नपाइने भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो,‘मेरो सरकार केका लागि यो भाषा प्रयोग गरियो ? आज दुई जना नेताको निर्देशन मात्रै होइन, हाम्रा कुरा पनि सुनिनुपर्छ ।’
सांसदहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले उठाएको विषय जायज भएको र गत वर्षको नीति तथा कार्यक्रममा भएको कतिपय विषयहरु सच्याएर ल्याएको दाबी गर्नुभयो । ‘हामीले हेर्दासम्म मेरो सरकार भन्ने थिएन, कसरी आयो थाहा भएन, प्रधानमन्त्रीजीलाई थाहा होला’, उहाँले भन्नुभयो ।
अन्तिमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम गलत भन्ने आधार नै नभएको बताउनुभयो । सरकारले ल्याएको नीति तथा कर्यक्रमको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिदै भन्नुभयो,‘कसैले औला ठड्याउन ठाउँ छैन, मेरो सरकार’ भन्नु अन्तराष्ट्रिय अभ्यास हो यसमा बहस गर्न आवश्यक छैन ।’











प्रतिक्रिया