काठमाडौँ, (नेस)
संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच यही वैशाख २३ गते एकता हुने भएको छ ।
डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष रहने उक्त एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ जुराइएको छ ।
डा. भट्टराई र यादवले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त कुराको
जानकारी गराउनुभएको छ ।
पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने उक्त पार्टीको संघीय परिषद्को अध्यक्षता डा. भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्नुहुने नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्य रोशन पोखरेलले जानकारी दिनुभयो ।
सरकार छोड्ने नछोड्ने सम्बधमा भने बहस जारी नै छ । पार्टी एकतापछि यस विषयमा गम्भीर बहस हुने बताइएको छ । तर नयाँ शक्तिका एक नेताले वर्तमान सरकारले संविधान संशोधनका लागि कुनै मतलव नराखेकाले फोरम छिट्टै सरकारबानट बाहिरिने दाबी गरे । तर पार्टी एकतापछि संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने र त्यस अवधिमा पनि माग सुनुवाइ नभए सरकारबाट हट्नेसम्मको कुराकानी भएको बताए ।
प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् ।
फोरमले सरकार नछोड्ने
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सन्तोष सिलवालले नयाँ शक्तिसँग पार्टी एकतापछि पनि सरकार नछोडिने प्रस्ट पार्नुभएको छ । ‘त्यो नमान्ने सहमति भइसकेको छ, यही विषयका कारण बिहीबारको बैठकमा अलमल भएको थियो’, सिलवालले भन्नुभयो– ‘हामीबीच कुरा मिलिसकेको छ सरकारमा रहिरहन्छौं, यसअघि नयाँ शक्तिले भने सरकार छोड्नैपर्ने माग राखेको थियो ।’ २४ गते मंगलबार एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र बुधबार निर्वाचन आयोगमा जाने समेत सिलवालले बताउनुभयो ।
यसअघि फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग पार्टी एकता गर्ने भन्दै चिठी आदानप्रदान गरेको थियो । फोरमले नै यसमा सक्रियता देखाएर पहिलोपटक चिठी पठाएको थियो । फोरमले २ पटक र राजपाले १ पटक चिठी पठाएको थियो तर एकताका लागि भने कुनै पनि बैठक बसेको थिएन । फोरम र राजपा गत वर्ष सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनमा चुनावी तालमेल गरेर गएका थिए ।
२ नम्बरमा प्रदेशमा फोरम र राजपाको सरकार छ । २ नम्बर प्रदेशबाहेक प्रतिनिधिसभामा फोरमले बाँके–२ बाट १ सिट र राजपाले कैलाली–१ बाट १ सिट जितेको छ । सिलवालले राजपासँगको एकताको प्रक्रिया तत्काललाई स्थगित भएको बताउनुभयो ।











प्रतिक्रिया