नेपाली सेनाबारे दुस्प्रचार गर्दै भारतीय मिडिया

0
Shares

काठमाडौं । भारतीय मिडियाले नेपाली सेनाबारे दुस्प्रचार गर्दै समाचार सम्प्रेषण गरेका छन् । भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करणमा नेपाली सेनाबारे दुस्प्रचार हुने गरी भ्रामक समाचार सम्प्रेषण गरिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा गएका बेला भएको नेसनल डिफेन्स युनिभर्सिटी स्थापना सम्बन्धी छलफललाई तोडमोड गर्दै भारतीय मिडियाले समाचार लेखेका छन् । चीनसँग भएको समझदारीबारे रक्षामन्त्री पोखरेलले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समेत जानकारी दिएका थिए । तर भारतीय मिडियाले ‘आईएसआई की चाल: नेपाल की सेना में घुसपैठ कर पाक रच रहा भारत के खिलाफ साजिश’ शीर्षकमा समाचार लेख्दै चीनसँग हुन गइरहेको सहकार्यलाई पाकिस्तानसँग जोडेर दुस्प्रचार गरेको छ ।

भारतीय मिडिया आजतकले लेखेको छ, ‘पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआई नेपाली सेनामा गुपचुप नयाँ तरिकाले घुस्ने कोसिसमा लागेको छ । यसका लागि आईएसआई र नेपाली सेना नेपालको राजधानी काठमाडौंमा नेसनल डिफेन्स कलेज बनाउँदैछन् । चीनको सहयोगमा पाकिस्तान नेपालसँग नजिक हुने कोसिसमा लागेको छ, ताकि नेपालमा भारतको प्रभाव कम गर्न सकियोस् ।’

रक्षा मन्त्रालय र नेपाली सेनाले चीनसँग सहकार्य बढाइरहेको सन्दर्भमा भारतीय मिडियाले अनावश्यक रुपमा पाकिस्तानसँग जोड्दै दुस्प्रचार गरेका छन् । चीनसँग नजिक हुँदा र नेपाली सेना शक्तिशाली हुँदा भारतको टाउको दुखाइ किन भयो ? बुझ्न सकिएको छैन ।
आजतकको समाचारमा अगाडि लेखिएको छ, ‘गुप्तचर स्रोतका अनुसार पाकिस्तान नेपालमा नेसनल डिफेन्स कलेज बनाउन चाहन्छ र काठमाडौंस्थित पाकिस्तानी उच्च मिसन भारतविरोधी प्रोपोगान्डा चलाइरहेको छ ।’

पाकिस्तान र नेपालबीच कलेज स्थापनाबारे धेरै पटक बैठक भइसकेको समाचारमा उल्लेख छ । तर सरकार र सेनाले डिफेन्स युनिभर्सिटी स्थापनाका लागि चीनसँग छलफल गरिरहेको हो । चीनसँग भइरहेको छलफललाई भारतले पाकिस्तानसँग जोडेर दुस्प्रचार गर्न खोजेको छ ।

समाचारमा लेखिएको छ, ‘एक गोप्य रिपोर्टमा भनिएको छ कि पाकिस्तान नेपालमा भारतविरोधी र आतंककारी समूहलाई सहयोग गरिरहेको छ । जसबाट आतंककारीले नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै भारतमा प्रवेश गर्न सकियोस् ।’ पाकिस्तानसँगको झगडा र रिसइबी साध्न भारतीय मिडियाले नेपाली सेनालाई बद्नाम गराउन खोजिरहेका छन् ।

आजतकको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस