हेटौंडा, (नेस)
महिला हकअधिकारको क्षेत्रमा कार्यरत् हेटौंडेली महिला अधिकारकर्मीले आफूहरु जोखिमपूर्ण अबस्थामा रहेर काम गर्नुपरेको गुनासो गरेका छन् ।
महिलामाथि भइरहेको हिंसा र मानवअधिकार हनन्का विरोधमा बोल्दा पीडक परिवारबाट ज्यान मार्ने धम्की आउने महिला अधिकारकर्मीले बताए । धम्कीबारे स्थानीय प्रहरी र प्रशासनमा उजुरी गर्दा पीडक पक्षलाई छुटाउन ठूला पहुँचवालाको सिफारिस आउने गरेको उनीहरुको भनाइ छ ।
त्यस्ता पहुँचवालाले गर्दा कति मुद्धामा अधिकारकर्मी गुपचुप रहनुपरेको गुनासो छ । आफ्नो कामको कदर कसैले नगर्ने र विदेशी डलरको भरमा बाँच्ने गरेको आरोप लाग्ने महिला अधिकारकर्मीको एक मुख्य समस्या हो ।
माइती नेपाल मकवानपुर संयोजक माया लामाले भन्नुहुन्छ—हरेक ठाउँमा महिलाका लागि न्याय माग्न जाँदा आफूलाई तपार्इं पनि यस्तै पीडित हुनुहुन्थ्यो हो ? के गर्नु हुन्थ्यो ? तपाईंमाथि पनि हिंसा भएको थियो होला हगि ? भन्ने खालका प्रश्न सोध्ने गरिन्छ ।
एक साधारण महिला हिंसामा परे भने सहज तरिकाले प्रहरीसम्म जाने स्थिति छैन । लामाले भन्नुभयो—उनीहरुलाई प्रहरीकोमा हामीले नै लैजानुपर्ने हुन्छ । तर, प्रहरी कार्यालयमा माइती नेपालले उचालेको भरमा पीडित ल्याइएको भन्ने जस्ता कुराले मनोबल घट्ने गरेको छ । महिला अधिकारका लागि सुरक्षा अधिकारीले पनि उपेक्षा गर्ने गरेको लामाले गुनासो गर्नुभयो ।
महिला अधिकारकर्मी आरती पाठकले आफूहरुलाई सडकमा ब्यानरसाथ नहिँड्दा चुपचाप बसेको भन्ने आरोप लाग्ने गरेको गुनासो गर्नुभयो । सार्वजनिक स्थानमा न्याय माग्दैमा कसैले न्याय नपाउने गरेको पाठकले बताउनुभयो ।
महिला अधिकारकर्मीको हकमा सडकमा निस्किएर न्याय माग्नुपर्छ भन्ने जरुरी नरहेको प्रतिक्रिया दिँदै पाठकले भन्नुभयो–सर्वसाधारणदेखि प्रहरी र प्रशासनलगायतले हाम्रो कामलाई राम्रो दृष्टिले हेर्ने गरेका छैनन् । ‘कतिले त डलर कति कमाइस् भन्ने कुरासमेत गर्ने गरेका छन्,’ उहाँको गुनासो छ ।
महिला अधिकारकर्मी निशा लामाको पनि उस्तै गुनासो छ । विहानीको शुरुवात समयमै महिला हिंसा सम्बन्धि मुद्धाहरु आइरहेका हुन्छन् ।
‘परिवारलाई समय नदिएर हामी मुद्धामामिलामा अघि बढ्छौं । तर, हाम्रो काम कदर गरिँदैन,’ उहाँले भन्नुभयो–महिला अधिकारकर्मी भन्ने बित्तिकै हिंसामा परेका महिलालाई उचाल्ने तथा अनेक कुरा गरेर प्रहरीसमक्ष लैजाने भनेर बुझ्ने मानसिकताले समाजमा नराम्रो जरा गाडेको छ । धम्की तथा गुनासोका साथै आफूले काम गर्दा यसको सम्मान हुने नगरेको उहाँले गुनासो गर्नुभयो ।
उनीहरुका अनुसार कहिलेकाहीं सुन्ने गरिन्छ–महिलाले पनि सगरमाथा टेकिसके, अन्तरिक्षमा पनि पुगिसके, राष्ट्रपति र प्रधानमन्त्री पनि बनिसके, वैज्ञानिक, लेखक, पत्रकार, कलाकार भएर पनि महिलाले तहल्का मच्चाइसके । त्यसैले अवसर पाए महिलाले जे पनि गर्न सक्छन्, पुरुषभन्दा महिला कुनै अर्थमा पनि कम छैनन् ।
सुन्दा यो भनाइ साह्रै मीठोमात्र होइन क्रान्तिकारी र अग्रगामी पनि लाग्छ । तर, यस्ता भनाइ राख्नेलाई थाहा हुनुपर्ने हो सगरमाथा चढ्ने वा अन्तरिक्षमा पुग्ने, राष्ट्रपति हुने वा प्रधानमन्त्री हुने, वैज्ञानिक हुने वा लेखक, कलाकार र पत्रकार हुने महिला सिटको आरक्षण मागेर त्यहाँ पुगेका होइनन् ।
महिला समानताका सवालमा आजकल थुप्रै गोष्ठी र अन्तत्र्रिmया हुन्छन् । मानवअधिकारकर्मी महिलाको आफ्नो समयको ठूलो हिस्सा महिला अधिकारको वकालत गर्दैमा बित्छ । महिलाअधिकारकर्मीको त शत्प्रतिशत समय महिलाको पक्षमा वकालत गर्दैमा बित्ने नै भयो ।
एकाथरि महिलालाई महिलाअधिकारको पक्षमा आवाज उठाएर कहिल्यै फुर्सद हुँदैन (त्यसमा पुरुषको पनि साथ हुन्छ), अर्कोतिर ग्रामीण महिला जो अधिकारबारे जान्दैनन्, तिनीहरुलाई घाँसदाउरा चुलोचौको खेताला÷गोठाला गएर कहिले फुर्सद हुँदैन ।
फुर्सद दुवै वर्गका महिलालाई हुँदैन । तर, फुर्सद नहुनाको कारण भने फरक छन् । फरक व्यस्त यी दुई वर्गका महिलाबीच खाडल त महिला र पुरुषको असमानताको खाडलभन्दा ठूलो छ । तथापि, न महिलाअधिकारकर्मीका चर्का नारा कहिल्यै घटेका छन् न त वास्तविक नेपाली नारी जो दीनहीन जीवन बाँचिरहेका छन्, तिनीहरुका दुख, पीडा, आँसु घटेका छन् ।











प्रतिक्रिया