गाँउमै पुगेर नागरिकता वितरण

0
Shares

धनवीर दाहाल, रुकुम
रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयले गाँउमै पुगेर नागरिकता बितरण गरेको छ । नागरिकता लिन प्रशासन नै पुग्नु पर्ने अवस्थालाई अन्त्य गर्दै प्रमुख जिल्ला अधिकारी सहितको टोली गाँउ पुगेको हो । सो क्रममा चौरजहारी नगरपालिकामा आयोजित नागरिकता वितरण शिविरमा ५३३ जनाले नागरिकता प्राप्त गरेका छन् ।

बुधबार र बिहीबार चलेको शिविरमा ३२२ महिला र २११ पुरुषले नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयको आयोजना र चौरजहारी नगरपालिकाको व्यवस्थापनमा नागरिकता वितरण शिविर आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर नागरिकता वितरण गरेपछि नागरिकहरु खुसी भएका छन् । घरयासी कामको बन्धन तथा आर्थिक अभावका कारण सदरमुकाम मुसीकोटसम्म पुगेर नागरिकता लिन नसकेका विशेष गरी महिलाहरु तथा कमजोर आर्थिक अवस्थाका नागरिकहरुलाई प्रत्यक्ष लाभ पुगेको छ ।

स्थानीय स्तरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने अवसर सिर्जना गर्ने जिल्ला प्रशासन कार्यालय र चौरजहारी नगरपालिकाप्रति सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । आर्थिक समस्या तथा घरयासी कामले सदरमुकाम जान नसक्दा नागरिकताको प्रमाणपत्रबाट बञ्चित भएकोहरुलाई ठूलो गुण लगाएको चौरजहारी नगरपालिका ८ का प्रशान्त रेग्मीले बताउनु भयो । “चाहेर पनि मैले नेपाली नागरिकताको प्रमाणपत्र लिन सकेको थिइन” उहाँले भन्नुभयो “नगरपालिकामा चलेको शिविरले मेरो इच्छा पूरा गरिदियो ।”
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले नगरपालिका प्रमुख विशाल शर्माको पटकपटकको आग्रह र नागरिकलाई सहज रुपमा सेवा दिने ध्येयले नागरिकता वितरण शिविरको आयोजना गरिएको बताउनु भयो ।

नागरिकलाई सहज हुने गरि आगामी दिनहरुमा समेत यस्ता कार्यव्रmमहरु सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ छ । चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले नागरिकताको प्रमाण पत्रलाई सहज रुपमा प्राप्त गर्ने अवसर प्रदान गर्न शिविर आयोजनाको पहल गरेको बताउनु भयो । नागरिकताको प्रमापत्र लिनकै लागि सदरमुकाम जानु परेको भए समग्रमा १० लाख ६० हजार बराबरको रकम खर्च हुन जाने उहाँको भनाई छ ।

एक जनाले कम्तिमा २ हजार खर्च गर्दा पनि ५३३ जनाको खर्च जोड्दा १० लाख ६६ हजार हुन जान्छ । उहाँले भन्नुभयो “शिविरले नगरपालिका क्षेत्रको व्ययभारलाई कटौती पनि गरेको छु ।” नगरप्रमुख शर्माले जनताका समस्याहरुलाई सधैं प्राथमिकतामा राख्ने र छिटोछरितो समाधानका लागि सधैं तल्लिन हुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक समेत गरेको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले पसल दर्ता, लघु उद्यमी दर्ता लगायतका लगायतका सेवा पनि प्रदान गरिएको थियो ।