सुनाखरी फूलको तस्करी बढ्यो

0
Shares

गणेश घिमिरे, इलाम,
दुर्लभ बनस्पति प्रजाति सुनाखरी फूलको उत्तरी इलामका बिभिन्न गाउँहरुबाट चोरी तस्करी हुने क्रम बढेको छ । जिल्लाको सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको बिभिन्न वडाहरुबाट सुनाखरी फूलको चोरी तस्करी बढेको हो ।

सुनाखरी स्थानिय केही ब्यक्तिहरुले संकलन गरेर भारतीय तस्करसमक्ष पुरयाउने गरेको नाम नखुलाउने शर्तमा माईमझुवाका एक ब्यक्तिले बताए । जिल्लाको माबु, माइमझुवा, जमुना, माइजोगमाई गाउँपालिकाको प्याङ, जोगमाई लगायतका गाउँका जंगलमा बढी मात्रामा पाइने सुनाखरी भारतको दार्जिलिङ, कालेङपुङ, मिरीक लगायतका स्थानमा तस्करले पुरयाउने गरेका छन् ।

उक्त क्षेत्रमा ब्यवसायिक फूलखेती हुने भएकोले पनि तस्करहरुले सिमावर्ती क्षेत्रबाट संकलन गरेर महङगो मूल्यमा बिक्रि गर्ने गरेको स्थानियले बताए । संकलनकर्ताले सिमावर्ती गाउँको बिभिन्न चोरबाटो हुँदै भारतीय तस्कर समक्ष पुरयाउने गरेको बताइन्छ । भारतबाट युरोपका देशहरुमा महङगो मूल्यमा सुनाखरी फूल निर्यात हुने भएकाले पनि सुनाखरी फूलको तस्करी हुने क्रम बढेको जिल्लामा जैविक बिबिधताको क्षेत्रमा काम गर्दै आएका राम रिमालले बताउनुभयो । बाहिरी देशमा हुने सभा समारोहमा उपहारको रुपमा सुनाखरी फूललाई प्रमुख मानिन्छ ।

स्थानिय स्तरबाट केहि संकलनकर्ताले प्रतिगोटा एक÷दुई हजार रुपैंयाँले बिक्रि गर्ने गरेको तर तस्करले भारतिय बजारमा सोही फूल प्रतिगोटा दशदेखि पन्ध्र हजार रुपैंयाँसम्म बिक्रि गर्ने गरेको बताइन्छ । स्थानिय स्तरमा सुनाखरीको महत्व नबुझदा र जनचेतनाको कमीका यो समस्या आउने गरेको छ । सुनाखरी एकपटक फूलेपछि छ महिनासम्म फुल्ने फूल हो । बिशेष गरेर यो फूल सजावटमा राखिन्छ ।

फरक÷फरक रङको हुने सुनाखरी फूल ठूलठूला होटलमा सजावट र सोखका लागि राखिने गरेको रिमालको भनाइ छ । जैविक बिबिधताको लागि महत्वपूर्ण बनस्पतिको रुपमा रहेको सुनाखरी साइटीसको सुचिमा सुचिकृत छ । यसको ब्यवसायिक खेती गर्न प्रतिबन्ध छ । जेठ महिनाबाटै फूल्न थाल्ने सुनाखरी मंसिर महिनासम्म फूल्ने गर्दछ । यो फूल मध्यपहाडिदेखि हिमाली क्षेत्रमा बढि मात्रामा पाइन्छ ।

जिल्लाको उत्तरी भेगबाट सुनाखरी फूलमात्र नभएर बहुमुल्य जडिबुटि समेत चोरी तस्करी हुने गरेको सन्दकपुर गाउँपालिकाका प्रबक्ता गिरीराजमणि खनालले बताउनुभयो । ‘सुनाखरी र जडिबुटिको चोरी तस्करी हुनेक्रम बढ्दै गएपछि गाउँपालिका यसको नियन्त्रण गर्न सुक्ष्म ढंगले अघि बढेको छ’ खनालले भन्नुभयो ‘यसको नियन्त्रण गर्न सामुदायिक बन, सरोकारवाला निकायसहित प्रहरी प्रशासनसंग समन्वय गरेर काम थालिएको छ ।’ खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरुले बहुमुल्य जडिबुटि तथा सुनाखरी फूलको खुलेआम तस्करी भइरहेको हो ।