सुदूरपहाडमा भव्य जात्रा,शक्तिपीठहरुमा भक्तजनको घुँइचो

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा बिहीवार जात्राको रौनकता छाएको छ । शुक्रवारसम्म जारी रहन जात्रामा बिहीवार बिहानैदेखि यहाँका प्रसिद्ध शक्तिपीठहरुमा भक्तजनको घुँइचो लागेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा कार्तिक शुक्ल पक्षभरी विभिन्न मठमन्दिर तथा शक्तिीपठहरुमा जात्रा लाग्ने गर्दछ । बैतडीको मेलौलीमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिर, सुर्नयामा रहेका भवानी मन्दिर, गणमेश्वर लगायतका मन्दिरमा कार्तिक शुक्ल चर्तुदर्शीका दिन मेला शुरु भई शुक्रवार पूर्णिमाका दिन जात्रा सम्पन्न हुन्छ ।
भगवतीका मन्दिरहरुमा रांगा तथा बोकाको बलिसहित जात्रा लाग्ने गरेको छ ।

यस्तै भवानी मन्दिरमा लाग्ने जात्रामा पनि विभिन्न ठाउँका दर्शनार्थीहरु आउने गर्दछन् । विभिन्न शक्तिपीठहरुमा लाग्ने जात्रालाई मार्यादित बनाउन सबै ठाउँमा मदिरा तथा जुवातास निषेध गरिएको छ । दार्चुलामा रहेको राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाम पनि जात्रा जारी रहेको छ भने डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा जात्रा सुरु भएको छ ।
जात्रामा नेपाल तथा भारतका विभिन्न स्थानका दर्शनार्थीहरु पुग्ने गर्दछन् ।

परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रही आएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । शरद ऋतु देवीदेवताहरुको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठहरुमा जात्रा लाग्ने गरेको आचार्य घनश्याम लेखकको भनाई छ ।

यो समयमा लाग्ने जात्रामा टाढाटाढाका श्रद्धालुहरु समेत आउने गरेको गंगासागर जोशीले बताउनुभयो । भाई टिकाको दिनदेखि सुरु भई करिब १५ दिनसम्म विभिन्न ठाउँमा रहेका देवस्थलहरुमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मीक महत्वका साथै आफन्त एवं ईष्टमित्रसंग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ ।

देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रीको बेला मन्दिरहरुमा पूजाआजा हुने भएपनि कार्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् । स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिनुभयो ।

जिल्लामा रहेका विभिन्न मन्दिरहरुमा रात्री जात्रा सुरु भएसंगै जिल्लाका ग्रामीण वस्तीहरु दमाहा बाजाँले गुन्जीएका छन् । सबै उमेर समूहका मानिसहरुले विभिन्न तरिकाले दमाहा बजाउँदै नाच्ने गर्दछन् । तर पछिल्लो समय जात्रामा विकृतिहरु समेत भित्रीएका छन ।