राप्रपाको एकिकरण प्रयासः नेतृत्व लिने विषय मुख्य विवाद



पहिला नेतृत्व लिने विषयमा विवाद भएर पार्टी फुटेको हो । शैद्धान्तिक विमति पहिला पनि थिएन अहिले पनि छैन ।

नेपाल समाचारपत्र, काठमाडौं ।

कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शम्सेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टी वीच एकता गर्ने बारे नेतृत्व तहबाट चासो देखाएपनि गम्भिर वार्ता नभएको बताइएको छ । साथै तीन पार्टी वीच शैद्धान्तिक र वैचारीक विमति समेत नभएको बताईएको छ ।

पार्टी एकता बारे तीन राप्रपा वीचको वार्ता भङ्ग भएको प्रशङ्गमा राप्रपा (प्रजातान्त्रिक) का सह—महामन्त्री सुरेश आचार्यले तीन राप्रपाको नेतृत्व तहमा गम्भिर वार्ता नभएको र शैद्धान्तिक वा वैचारीक विमति पनि नदेखिएको बताउनु भएको छ । गत निर्वाचनमा पराजय भोगेपछि पार्टी एकता गर्नै पर्छ भनी कार्यकर्ता तहबाट उठेको पार्टी एकताको भावना अनुसार अहिले नेतृत्व तहमा छलफल चलेपनि गम्भिर छलफल भने नभएको उहाको भनाई छ ।

राप्रपा भित्र शैद्धान्तिक मतभिन्नता भन्दा पनि नेतृत्वको विषयमा विवाद बढी देखिन्छ । शिद्धान्तत २०७३ फागुनमा भएको एकता महाधिवेशनले पारित गरेको राजनीतिक प्रस्ताव अनुसार छलफल हुनुपर्छ भन्दै सहमहामन्त्री आचार्य भन्नुहुन्छ— यसमा संवैधानिक राजसंस्था, हिन्दु राज्य र संसदीय प्रजातन्त्रको माध्यमबाट राप्रपा अघि बढ्ने उल्लेख छ । यो विषयमा तीन वटै राप्रपा भित्र विमति नदेखिने उहाको भनाई छ ।

अघिल्लो संसदमा चौथो ठुलो दलको रुपमा रहेको राप्रपाले अहिलेको निर्वाचनबाट दलको हैसियत समेत गुमाउन पुगेको छ । थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपाले २०७३ साल फागुनमा एकता महाधिवेशन गरि एकिकृत भएका थिए । त्यतिवेला लोहनी राणा नेतृत्वको राप्रपामा थिए ।

महाधिवेशनले अध्यक्षमा थापालाई निर्वाचित गरेको थियो । महाधिवेशन पछि महाधिवेशनबाट स्वीकृत विधान अनुसार र एकिकरण हुनुपुर्व शीर्ष नेतावीच भएको मौखिक सहमतिलाई उलंघन गरि अध्यक्ष थापाले पार्टी एकलौटी ढंगले संचालन गरेको भन्दै डा. लोहनीले अध्यक्ष थापालाई ११ बुदे पत्र लेखेर पार्टी परित्याग गरेका थिए । लोहनीले त्यपछि अन्य नेताहरु संग मिलेर नया पार्टी राप्रपा (राष्ट्रबादी) गठन गर्नुभएको थियो ।

एकता महाधिवेशन पुर्व राप्रपाका शीष नेतावीच पार्टीको अध्यक्ष थापा बन्ने र डा. लोहनीको नेतृत्वमा वरिष्ठ नेताहरुको ११ सदस्यीय नीति निर्धारण तथा निर्देशन समिति बनाउने भन्ने सहमति भएको थियो । यो निर्देशन समितिले पार्टी नीति बनाउने र पार्टीलाई समेत निर्देशन दिने उल्लेख थियो । यो समिति एकता महाधिवेशन सम्पन्न भएको एक महिना भित्र बनाइसक्नु पर्ने भएपनि अध्यक्ष थापाले निर्देशन समिति गठन गर्न आलटाल गरेपछि डा. लोहनी बाहिरिएका थिए ।

राप्रपाबाट लोहनी बाहिरिए पछि निर्देशन समितिको अध्यक्ष राणालाई बनाउनुपर्ने माग उठेको थियो । यहि वीचमा अधयक्ष थापाले पार्टीको सबै मनोनयन तथा नियुक्ति प्रक्रियामा पार्टीमा तथा शीर्ष नेताहरुवीच छलफल नै नगरि एकलौटी ढंगले अघि बढेको भन्दै राणा समेत असन्तुष्ट बन्नु भएको थियो ।

अध्यक्ष थापा पार्टीलाई थाहा नै नदिई पार्टी भित्र कुनै छलफल नै नगरि उपप्रधान तथा स्थानिय विकास मन्त्रि भएपछि राप्रपा भित्रको विवाद अझ चुलिदै गएको थियो । अध्यक्ष थापाले स्थानिय निर्वाचन सम्पन्न गर्न सहयोग गर्नको लागि सरकारमा सहभागि भएको भनेपनि सरकारमा सहभागि हुन पार्टीको माइन्युट नभएको नेताहरुले बताउदै आएका थिए ।

प्रथम चरणको निर्वाचनमा राप्रपाले नराम्ररी हारेपछि पार्टीभित्र अध्यक्ष थापाको राजिनामा अथवा निर्देशन समिति गठन गर्न दबाब बढेको थियो । अध्यक्ष थापालाई असन्तुष्ट पक्षले अध्यक्ष र संसदीय दलको नेताबाट समेत हटाउने रणनीति बनाउन थालेपछि उहाले एकलौटी ढंगले ४३ जना केन्द्रिय सदस्य मनोनित गरि सुरक्षित भएका थिए ।

यहि वीचमा मधेशको माग संवोधन गर्न ल्याइएको संविधान संशोधन प्रस्ताव पारित गर्ने उदेश्यले संसदमा ल्याइएको बेला राप्रपाका १४ जना सांसद अनुपस्थित भएपछि राप्रपा विभाजन उम्नुख तर्फ अघि बढेको थियो । अन्तत राणाले पार्टी विभाजन गरि राष्ट्रिय प्रजातन्त्र पाटी (प्रजातान्त्रिक) गठन गर्नुभएको थियो ।

विभाजित तीनवटै राप्रपा विभिन्न गठबन्धन गरि निर्वाचनमा गएपनि अपेक्षित नजिता ल्याउन नसकेपछि पुन पुनः पार्टी एकिकरणको प्रयास भएको हो । अहिले भएको वार्ता र छलफलको पनि लिखित केहि नभएको भन्दै सहमहामन्त्री आचार्यले एउटा पार्टीले एकताको लागि छलफल नगर्ने भने पनि अर्को पार्टीसंग एकताको लागि वार्ता र छलफल जारी राख्नुपर्ने बताउनु भएको छ ।

तीन राप्रपाको एकिकरणका सन्दर्भमा कार्यकर्ता तहबाट तीनवटै राप्रपाको केन्द्रिय समिति वा परिषद बनाएर आउदो अधिवेशन सम्म अघि बढ्ने र त्यो बेला सम्म पार्टी भित्रको मतभेद सबै अन्त्य गरि एकिकृत रुपमा आउनुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्