कामपाका मेयर र उपमेयर चीन प्रस्थान



नेपाल समाचारपत्र, काठमाडौं ।

यही कातिक १४ देखि १६ गतेसम्म चीनको हुआन सहरमा आयोजना हुने “चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८” मा भाग लिन महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी आज चीन प्रस्थान गर्नुभएको छ ।

“विकासका अवसर र आपसी साझा जीत सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन” विषयमा केन्द्रीत सम्मेलनमा चीनका सहरहरुसँग भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय नगर र संघ संस्थाबाट प्रतिनिधित्व हुँदैछ ।

चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसि), चाइना इन्टरनेशनल फ्रेन्डसिप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टको आयोजनामा हुने सम्मेलनमा भाग लिन मेयर शाक्य र उपमेयर खड्गी चीन प्रस्थान गर्नुभएको हो ।

आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा ल्हासा नगरले काठमाडौं महानगरलाई “आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिफ सिटि अफ टिवेट अटोनोमस अवार्ड” का लागि मनोनयन गरेको छ । महानगरलाई सम्मेलनमा भाग लिन ल्हासा नगरले निमन्त्रणा गरेको हो ।

कार्यक्रम तालिका अनुसार मेयर शाक्य नेतृत्वको प्रतिनिधि मण्डल आज छेन्दु पुग्नेछ । भोलि ल्हासा नगरका उपप्रमुखसँग छेन्दुमा भेट गरी दुवै नगरका प्रतिनिधि मण्डल हुआन प्रस्थान गर्नेछन् ।

बुधबार, विहीबार र शुक्रबार सम्मेलनमा सहभागी भएर मेयरसहितको टोली शनिबार स्वदेश फर्कनेछ । यस अवधिमा महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ । उहाँलाई उमेरको जेष्ठताका आधारमा कार्यवाहक दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्