नागढुंगा–धुलिखेल मेट्रो: ४ कम्पनीको प्रस्ताव अध्ययन गर्दै लगानी बोर्ड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि पेश भएको ४ कम्पनीको प्रस्ताव लगानी बोर्डले अध्ययन शुरु गरेको छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन बोर्डले ग्लोवल टेण्डर आह्वान गरी आशयपत्र माग गरेको थियो ।

गत जेठ ३ गते जारी बोलपत्र आह्वानपछि आशयपत्र परेका २३ कम्पनी मध्ये ६ कम्पनीलाई छनौट गरी प्राविधिक र आर्थिक प्रस्तावसहित ३० दिनभित्र पेश गर्न आग्रह गरेको थियो ।

भदौ २८ गते प्रस्तावसहित आउन आग्रह गर्दा ४ कम्पनीले तोकिएको समयभित्र उक्त प्रस्ताव बोर्डलाई बुझाएको बोर्डका इन्जिनियर आशिष गजुरेलले जानकारी दिनुभयो ।

सोही प्रस्ताव कै आधारमा ४ कम्पनी मध्ये १ कम्पनी मात्रै छनौट गर्नु पर्ने भएकोले सुक्ष्म ढंगले अध्ययन र मुल्यांकन भइरहेको बोर्डका इन्जिनियर गजुरेलको भनाई छ ।

‘अहिले हामी ४ कम्पनीको प्रस्ताव र मुल्यांकनको चरणमै छौँ । ती कम्पनीको काम गरेको अनुभव, आर्थिक, प्राविधिक पक्ष लगायत समग्र पक्षको अध्ययन गरीरहेका छौ उहाँले भन्नुभयो–‘त्यसैको आधारमा १ कम्पनीलाई छनौट गरिने छ । नागढुंगादेखि धुलिखेलसम्म कूल ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि लगानी बोर्डले संयोजन गरिरहेको छ । ती कम्पनीबाटै एउटा कम्पनी छनोट गरी डिपीआर तयारीको काम सुरु गर्न आग्रह गरिने भएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २०७४ कात्तिक २७ गते बसेको बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बनाउने निर्णय गरेको थियो।

डिपीआर तयार भइसकेपछि लगानी बोर्डकै अगुवाइमा निर्माण, सञ्चालन र हस्तान्तरण अवधारणामा मेट्रो रेल निर्माणका लागि अन्तराष्ट्रिय कम्पनीको खोजी गरिएको हो ।

पहिलो चरणमा परामर्शदाता चयन गरी सो रेलमार्गको अध्ययन गरिने भएको छ । सार्वजनिक निजी साझेदारी ढाँचामा शहरी यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ मेट्रो रेलको अध्ययनका लागि प्रारम्भिक काम शुरु गरिएको बोर्डले जनाएको छ ।

बोर्डले छनोट गर्ने परामर्शदाताले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिएफएस) तयार पार्नुपर्ने हुन्छ । सो कामका लागि नेपाल सरकारले नै स्रोतको व्यवस्थापन गर्ने घोषणा गरेको छ ।
बोर्डले आगामी चार वर्षभित्र मेट्रो रेल चलाउने तयारीका साथ आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिएको छ ।

Skip This