‘प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्छौ’


काठमाडौं । नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । काभ्रेको तपेश्वर उच्च माध्यामिक विद्यालयका नेविसंघ ईकाइ अध्यक्ष कृष्ण ढकाललाई प्रधानमन्त्रीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेका थिए । अन्जानमा फेसबुकमा आएको तस्वीर शेयर गरेको भन्दै माफी माग्दा समेत नछाडेको भन्दै नेविसंघले आन्दोलनको घोषणा गरेको छ । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ठाडो आदेशमा ढकाललाई पक्राउ गरिएको नेवि संघ अध्यक्ष नैनसिंह महरले बताउनुभयो ।

सरकार कम्युनिष्ट बाहेकका विचार बोकेका मानिसलाई देख्नै नसक्ने स्थितिमा पुगेको उहाँको आरोप छ । ढकाललाई रिहा गर्न माग गर्दै नेवि संघले कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, २७ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ ।