होटेल सञ्चालकले छुरा प्रहार गर्दा बुढामगरको मृत्यु


काठमाडाैं । मादक पदार्थ सेवनका क्रममा होटेल सञ्चालकसँग विवाद भएपछि बाँकेमा एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटेल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते बुढामगरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपका बेला होटेल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ । छुरा प्रहार गरेको आरोपमा होटेल सञ्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।