तिहारकै दिन जङ्गली हात्तीको झुण्डले घर भत्कायो


कञ्चनपुर । तिहारको दिनमै कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ ।

गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ ।

लुगा, कागजपत्र बाकस, ग्यास सिलिण्डर, दराज, पङ्खा, टिभीलगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ । घर नजिक लगाएको तरकारी नष्ट गर्नाका साथै खानेपानीका लागि गाडिएको नल्कासमेत हात्तीको झुण्डले उखेलेको छ ।

राति १२ बजे २० भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो । हात्तीको झुण्डले घर भत्काउन थालेपछि बालबालिकासहित ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय शिवराज रानाले बताए ।

“बिहान घरमा पुग्दा घर भत्काइएको थियो”, उनले भने, “घरभित्र राखेको सबै अन्न खाइदियो । लुगाफाटोसमेत च्यातचुत पारेर विचल्लीमा पारेको छ ।”

“ज्यान त बल्लतल्ल जोगायौँ, घर जोगाउन सकिएन,” उनले भने । अन्न सबै हात्तीले खाएपछि बिहान छिमेकीले दिएको खाना खाएर बसेको अर्का खेमराज रानाले बताए । उनले भने, “हात्तीले बिजोग पा¥यो । खानासमेत अरुबाट मागेर खानु परेको छ ।”

खेतमा धान छँदा खाएर नोक्सान गर्दै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्नसमेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।

यसैबीच, आज बिहान सुदूरपश्चिम प्रदेशका सदस्य लालबहादुर खड्काले हात्तीले घर भत्काएका परिवारको अवस्था र क्षतिको जानकारी लिएका छन् ।

उनका अनुसार हात्तीको झुण्डले तीनवटै परिवारको अन्न सबै खाएर र घरभित्र राखेको लुगाफाटोसमेत नष्ट गरेको छ । खड्काले बताए, “हात्तीपीडित परिवारको अवस्था निकै नाजुक छ । तत्काल राहत र बस्ने व्यवस्था मिलाउन पहल भइरहेको छ ।”