माछापोखरीमा विष हाल्दा १० लाखको क्षति


चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु¥याएको छ । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन् । करीब रू। १० लाखबराबरको क्षति भएको पीडित बर्तौलाले बताए । उनको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा रू। ८० हजारको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्तौलाले गुनासो गरे ।

बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताए । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उनको माछापोखरीमा विष हालिदिएको थियो ।

साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारीलगायतबाट रू। नौ लाख ऋण लिएर माछापालन गरेको उनले बताए । इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रुद्र शर्माले विषका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।