८० करोड खर्चेर धाम निर्माण गरिने


चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई रु ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ ।

भरतपुरको मुख्य बजार नजिक रहेको यस स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो । गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २।४३ हेक्टर छ भने नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यो धाम विस्तार गरिने योजना अघि बढाइएको छ ।

यस क्षेत्रका प्रदेश सांसद विजय सुवेदीले नमूना क्षेत्रका रूपमा गणेशस्थानलाई विकास गरिने बताए । निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उनको भनाइ थियो । प्रदेश सरकारले यस आर्थिक वर्षमा रु ८० लाख विनियोजन गरिसकेको छ ।

स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रूपमा विकास गरिने र सो कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु गरिएको सांसद सुवेदीले बताए ।