लाइफ इन्स्योरेन्स कर्पोरेसनको बदमासीले लगानीकर्ता ठगिए

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
झुटो विवरण पेस गरेर नियमक निकाय र सर्वसाधारणलाई झुक्याउने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको प्रयास असफल भएको छ। बीमा समितिले कम्पनीको बदमासी फेला पारेपछि कम्पनीकोे प्रयास असफल भएको हो।

भारतीय लगानीसमेत रहेको सो कम्पनीले बीमा समितिमा बुझाएको गत आर्थिक वर्षको वित्तीय विवरणमा गल्ती भेटिएपछि समितिले वित्तीय विवरण पुनः पेस गर्न निर्देशन दिएको थियो। नयाँ वित्तीय विवरणबाट कम्पनीको नाफा ह्वात्तै घटेको मात्रै छैन, चुक्तापुँजी वृद्धिका निम्ति ३६ प्रतिशत बोनस शेयर दिने कम्पनीको पूर्वनिर्णय पनि उल्टिएर १२ प्रतिशतमा सीमित भएको छ।

यसबाट नाफा बढी देखाएर कम्पनीको चुक्तापुँजी बढाउन आफ्नो क्षमताभन्दा बढी बोनस शेयर दिने कम्पनीले असफल प्रयास गरेको स्पष्ट भएको छ। कम्पनीले झुटो विवरण सार्वजनिक गर्दा उच्च लाभांश पाउने आशामा रहेका धितोपत्रको दोस्रो बजारका लगानीकर्ता भने ठगिएका छन्।

कम्पनीले गत साउन २४ गते ३६ प्रतिशत बोनस शेयर र त्यसमा कर प्रयोजनका निम्ति १ दशमलव ८९ नगद लाभांश दिने घोषणा गरेको थियो। तत्पश्चात् उच्च लाभांश पाउने आशामा एलआईसीप्रति लगानीकर्ता झुम्मिँदा धितोपत्रको दोस्रो बजारमा कैयांै दिन कम्पनीको उच्च कारोबार हुँदै शेयर मूल्य पनि अकाशिएको थियो। तर, कम्पनीले आफ्नो पूर्ववित्तीय विवरण र लाभांशको परिमाण सच्याउँदै नयाँ प्रस्ताव नियमक निकायमा पठाएकाले दोस्रो बजारका लगानीकर्ता ठगिएका हुन्।

नयाँ प्रस्तावमा भनिएको छ– ‘साउन २४ गते कम्पनीको ९४औं सञ्चालक समितिको बैठकले आव २०७३÷७४ को नाफाबाट चुक्तापुँजीको ३६ प्रतिशत बानेस शेयर र सोमा लाग्ने कर प्रयोजनका निम्ति १ दशमलव ८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरी स्वीकृतिका लागि बीमा समितिमा पठाएकोमा प्राविधिक कारणवश कात्तिक ६ गते बीमा समितिले कम्पनीलाई वित्तीय विवरण संशोधन गर्न दिएको निर्देशनअनुसार कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र सोमा लाग्ने शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि पेस गरिएको छ।’ कम्पनीको लाभांशको प्रस्ताव बीमा समिति र कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि लागू हुनेछ।

स्रोतका अनुसार बीमा समितिको फम्र्याटभन्दा बाहिर गएर वित्तीय विवरण पेसपछि समितिले संशोधन गराउँदा बदमासी फेला परेको हो।

स्रोतका अनुसार बीमा समितिले निर्देशनअनुसार बीमांकीय मूल्यांकन गर्दा अघिल्लो आर्थिक वर्षको नाफाबाट कम्पनीले लाभांश दिन सक्दैन। कम्पनीले अब जगेडा कोषबाट लाभांश दिनुपर्नेछ।

वैदेशिक रोजगारको म्यादी बीमालाई प्रोभिजनिङ नगरी वित्तीय विवरण बनाउँदा नाफा बढी देखिएको तर पछि प्रोभिजनिङ गरेर वित्तीय विवरण तयार पार्दा नाफामा घटेको हो। बीमा समितिले तोकेबमोजिमको पुँजी पुर्याउनका निम्ति कम्पनीले बोनस शेयरको प्रपञ्च गरेको बताइएको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार रुपियाँ छ। त्यस्तै रिजर्भमा ६५ करोड १२ लाख ७५ हजार रुपियाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १० करोड ९० लाख १३ हजार रुपियाँ खुद नाफा कमाएको देखाइएको छ।

सो कम्पनीमा एलआईसी भारतको तर्फबाट विजयकुमार शर्मा अध्यक्ष हुनुहुन्छ भने नेपालको तर्फबाट विशाल ग्रुपका अशोक अग्रवाल, सर्वसाधारणको तर्फबाट कुमारकेशर विष्ट र भारतका बी भेनुगोपाल र भीके कुक्रेजा सञ्चालक रहनुभएको छ।

Skip This