निर्मला हत्याकाण्डः महेन्द्रनगरमा फेरी प्रदर्शन, हत्यारा सार्वजनिकको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।

कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिकको माग गर्दै महेन्द्रनगरमा फेरी प्रदर्शन सुरु भएको छ ।
स्थानिय महिला अधिकारकर्मी र निर्मलाका आमाबुबाले सोमवार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेका हुन । नेपालीहरुको महान् चाड दशैँलाई मध्यनजर गर्दै केहि समयका लागि रोकिएको निर्मलाको न्यायको आन्दोलन फेरी सुरु भएको छ ।

हत्यारालाई छिटो कानुनीे दायरामा ल्याउनु पर्ने माग गर्दै प्रदर्शन सुरु भएको हो । निर्मलाको हत्यारा पत्ता नलागेसम्म दबाबमूलक कार्यक्रम जारी रहने नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले बताइन् ।

महेन्द्रनगरको मदनचोकबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरेको थियो । ¥यालीमा स्थानिय, आमा समुह, महिला अधिकारकर्मी, निर्मलाका आमाबुबाको सहभागिता रहेको थियो ।

गृहमन्त्रीलाई ज्ञापन पत्र

निर्मलाको न्यायको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाइएको छ । स्थानिय महिला अधिकारकर्मी, नागरिक समुह र पीडित परिवारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
आइतबार बसेको सर्वपक्षीय बैठकले ¥याली सहित प्रदर्शन गरेर प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

घटना घटेको तीन महिना भन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसम्दा प्रहरी प्रशासनप्रति जनविश्वास गुम्दै गएको भन्दै चाँडो भन्दा चाँडो अपराधी पत्ता लगाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज जगदीश भट्टलाई बर्खास्त गरिए पनि उनीहरुमाथि कानुनी कारबाही चलाइनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।