सुदूरपश्चिम प्रदेशमा दैनिक एकभन्दा बढी आत्महत्या

0
Shares

विमल बिष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेशमा दैनिक एक जना भन्दा बढीले आत्महत्या गर्ने गरेको पाइएको छ । यो संख्या बढ्दै गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

सो कार्यालयको तथ्यांक अनुसार पाँच वर्षमा सुदूरपश्चिम प्रदेशका दुई हजार १ सय ७२ जनाले आत्महत्या गरेका छन् । पाँच वर्षको अवधिमा गत वर्ष सबैभन्दा बढीले आत्महत्या गरेको बताईएको छ ।

गत आर्थिक वर्षमा चार सय ७० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । त्यस्तै पाँच वर्ष अघि ०७०÷७१ मा चार सय ३१ जनाले आत्महत्या गरेका थिए । त्यो संख्या ०७१\७२ मा तीन सय ७९ मा झरेपछि ०७२/७३ देखि भने बढ्दै आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार, ०७२/७३ मा चार सय ५६ र ०७३÷७४ मा चार सय ३६ ले जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा पनि सबैभन्दा बढी झुन्डिएका छन् । यो अवधिमा एक हजार चार ४ सय ५९ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । विष सेवन गर्नेहरूको संख्या दोस्रो नम्बरमा छ ।

पाँच वर्षमा ६ सय ८१ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन् । त्यस्तै, नदी, नाला र पोखरी लगायत पानीमा हाम फालेर, भिर, रुख र घरको छतबाट हाम फालेर पनि केहीले आत्महत्या गरेको प्रहरीको तत्थ्यांकमा उल्लेख छ । आफ्नै शरीरमा आगो लगाएर तथा हतियार प्रयोग गरेर पनि केहीले आत्महत्या गरेको पाइएको छ ।
किन गर्छन् आत्महत्या ?

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांक अनुसार आत्महत्याका विविध कारण देखिएका छन् । जसमा मानसिक रोग, असफल प्रेम, घरेलु हिंसा, यौन दुव्र्यवहार साथै दाइजो प्रथाका कारण आत्महत्या गरेको पाइएको छ ।

त्यस्तै, गरिबी, पारिवारिक कलह, आर्थिक असफलता पनि आत्महत्याको कारण बनेको प्रहरीको अनुमान छ । कतिपयले सामाजिक प्रतिष्ठा कायम राख्न नसक्दा, व्यापार व्यवसायमा घाटा हुँदा, आफन्त गुमाउँदा पनि आत्महत्या गरेका छन् ।

आत्महत्या गरेका युवामा भने तनाव, अत्यधिक महत्वाकांक्षा, बेरोजगारी, पढाइमा असफलता, एक्लोपन, असफल प्रेमजस्ता कारण देखिएको सुदूरसिश्चम प्रहरी प्रमुख डिआईजी सुरज केसीले बताउनु भयो ।