कञ्चनपुरका गाँउ–गाँउमा करदाता शिक्षा कार्यक्रम


मनोज भट्ट, महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ८ तिलौचारमा करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम गरिएको छ । करदाता शिक्षा कार्यक्रम अन्र्तगत स्थानीय वासिन्दालाई कर सम्बन्धि सचेतना जगाउन कार्यक्रम गरिएको छ ।

वडा नं. ८ को वडा कार्यालयमा गरिएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षण संस्था, सहकारी संस्था, व्यवसायी लगायतका सहभागी भएका छन् । वडा अध्यक्ष ध्वज बहादुर विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा राजश्व परामर्श समितिका सदस्य हिमाल बहादुर चन्दले कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा समिति सदस्य चन्दले नगर वासिन्दालाई कर सम्बन्धि सचेत गराउन करदाता शिक्षा कार्यक्रम गरिएको जानकारी दिए । ‘करदाता शिक्षा कार्यक्रम अन्र्तगत नगर वासिन्दालाई कर सम्बन्धी कानुनी व्यवस्था, करका स्रोत, पहिचान लगायतका विषयमा जानकारी गराउन कार्यक्रम गरिरहेका छौ’ उनले भने,‘यो कार्यक्रम सबै वडामा गरिरहेका छौ, यसबाट स्थानीयमा कर संकलनमा प्रगति हुने आशा राखिएको छ ।’

राजश्व परामर्श समितिका सदस्य चन्दले कर तिर्न नागरिकको कर्तव्य र नगरपालिकाले जनताबाट लिएको कर विकास निर्माण र जनतालाई सेवा प्रवाहमा सदुपयोग गर्ने दायित्व भएको बताए ।

राजश्व परामर्श समितिका सदस्य चन्द, भीमदत्त नगरपालिकाका आन्तरिक लेखा परीक्षण अधिकृत केशवदत्त भट्ट, मिनराज भट्टले कार्यक्रम सहजीकरण गरे । भीमदत्त नगरपालिकाले वडा नं. १९ बाट करदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । हालसम्म ६ वडामा कार्यक्रम गरिएको छ ।

नयाँ संरचना अनुसार स्थानीय तहले केन्द्रीय सरकारले कर संकलन गर्दै आएका केही स्रोतका समेत संकलन गर्ने अधिकार पाएको छ । तत्कालिन जिल्ला विकास समितिले संकलन गर्दै आएको रोयल्टी कर र घर बहाल कर संकलन अधिकार स्थानीय तहलाई दिइएको छ । भीनपा नगर प्रमुख सुरेन्द्र विष्टले उत्तरी क्षेत्रमा भ्यू टावर, भम्केनी धाम विकास, झिलमिली ताल संरक्षण लगायतका कार्यक्रम अघि बढाएकोमा खुसी व्यक्त गर्दै उनले स्थानीय सबैले साथ दिने बताए ।