नेकपा स्थायी कमिटी बैठक स्थगित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सोमबार र मंगलबार हुने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री के.पी ओलीको स्वास्थ्य तथा शीर्ष नेताहरुको व्यस्तताको कारण बैठक तत्कालको लागि स्थगित गरिएकाे हो ।

बैठक तत्कालको लागि स्थगित गरिएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी गराउनुभयो । नेकपाले बैठक सोमबार र मंगलबारको लागि स्थगित गरिएता पनि अर्को मिति भने घोषणा गरेको छैन । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ । त्यस मध्ये १० जना भन्दा बढी सदस्य विभिन्न कारणले उपत्यका बाहिर छन् । केही नेता विेदेशमा छन् ।

प्रधानमन्त्री ओली शुक्रबारदेखि अस्वस्थ हुनु भएको छ । उहाँको छातीमा समस्या आएको छ । प्रधानमन्त्री ओली अस्वस्थताकै कारण पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत उपस्थित हुन सक्नु भएन । महासचिव विष्णु पौडेलले उहाँको स्वास्थ्यमा केही सुधार आएको जानकारी दिनुभएको छ ।

बैठक स्थगित हुनुको कारण अन्य शीर्षस्थ नेताहरुको व्यवस्थताको कारण पनि हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार गृहजिल्ला चितवन जानुभएको छ । महासचिव पौडेल पनि प्रचण्डसँगै चितवनतिरै लाग्नुभएको छ ।

त्यस्तै उपप्रधान तथा रक्षामन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल र प्रवक्ता चीन भ्रमणमा हुनुहुन्छ । गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा र परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार कतार जाँदै हुनुहुन्छ ।