थुनुवा फरार प्रकरण: प्रहरी हवल्दार र जवान मात्रै निलम्बन


विराटनगर, (नेस)
विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षबाट दुईजना थुनुवा फरार भएको घटनामा सो कार्यालयमा कार्यरत दुई प्रहरी निलम्बनमा परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सांझ जारी गरेको विज्ञप्तिमा प्रहरी हवल्दार जिरालाल रौनियार र प्रहरी जवान जगन्नाथ बास्केलाई निलम्वन गरिएको उल्लेख छ ।

यस्तै छानविनकालागि जिल्ला प्रहरी कार्यालय मोरङले समिति समेत गठन गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतकक्षबाट मोहम्मद सद्दिम हुसेन र मोहम्मद आरिफ आलम भागेपछि छानविन गर्न डिएसपी निशान थापाको नेतृत्वमा पांच सदस्यीय छानविन समिति गठन भएको हो । समितिले शुक्रवारबाटै काम थालेको छ । शुक्रवार विहान १ बजेदेखि ३ बजेको बिचमा अभियुक्तहरुले भेण्टीलेसनको ६ वटा रड काटेर फरार भएका थिए ।

बिहिवार इलाका प्रहरी कार्यालय रानीमा १९ जना थुनुवा राखिएको थियो । अस्फाक हत्या आरोपमा पक्राउ परेका ५ मध्ये मुख्य अभियुक्त हुसेन र आलमलाई छुट्टै कोठामा राखिएको थियो भने अन्य ३ आरोपी सहित १६ जनालाई छुट्टै कक्षमा राखिएको थियो । सो घटनाको समय डिउटीमा रहेका अन्य प्रहरीलाई जिल्ला तानेर अनुसन्धान सुरु गरिएको डिएसपी थापाले जानकारी दिए ।