धुलिखेलको शंखुमा जेष्ठ नागरिक भवन


मोतीराम तिमल्सिना, काभ्रे
२०७४ असोज ६ गते सम्झौता गरी ३० महिना भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जेष्ठ नागरिक आवास भवन निर्माणको काम अलपत्र परेको छ ।
केन्द्र सरकारले उपलब्ध गराउने निर्माण कार्यको रकम अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म उपलब्ध भए पनि दशै अगावै रकम निकासा नभएकाले निर्माण कार्य रोकिएको हो ।

सरकारले आवास कार्यक्रम अन्र्तगत उक्त भवन जिल्लाको धुलिखेल नगरपालिका वडा नम्वर १२ शंखु स्थित साविकको शंखुपार्टीचौर गाविस वडा नम्वर ४ दारमिचौरमा निर्माण शुरु गरेको थियो ।

साविक शारदा ५ कित्ता नम्वर १ को ७८ रोपनी जमिन मध्ये ४० रोपनी जमिनमा उक्त भवन निर्माण कार्य शुरु भएको हो । एउटा भवनको एक ढलान र अर्काे भवनको डिपिसी लेभल सम्पन्न गरी पिल्लर उठाउँदा समेत किस्ता रकम प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ । भवन डिभिजन कार्यालयका कर्मचारीहरुले समेत दशैमा तलब लिन पाएनन् । प्रदेश सरकारले आफ्नो मातहत उक्त कार्यालय राखे पछि भवन निर्माण तथा तलब समेतको खर्च निकासा हुन नसकेको हो ।

उक्त क्षेत्रमा गार्ड घर एक, प्रशासन ब्लक, मल्टिपरपोज हल, स्टाफ क्वाटर, सहयोगी क्वाटर समेत गरी विभिन्न ब्लकहरुको निर्माण हनेछ । ६० जना जेष्ठ नागरिकलाई उक्त भवनमा ब्यवस्थित तथा आधुनिक प्रणालीको सेवा सुविधा उपलब्ध गराएर राख्न सकिने छ । किराँतेश्वर कन्ट्रक्टसन एण्ड डिलिङ्ग कम्पनी प्राली सुकेधारा ४ काठमाडौले निर्माण शुरु गरेको उक्त भवनको कार्य २०७६ मसान्त भित्र सम्पन्न गरिसक्नु पर्ने छ ।

निर्माण कम्पनीले पेश्की तथा निर्माण कार्य बापतको १ करोड ६९ लाख १ सय ३७ रुपैया भुक्तानी लगिसकेको भवन डिभिजन कार्यालयले जनाएको छ । रकम अभाव नभएर दशै तथा विभिन्न चाडपर्वका कारण काम रोकिएको कम्पनीले बताएको छ ।

उक्त भवन निर्माणका लागि भवन डिभिजन कार्यालयले मुअ कर र कन्टिजेन्सि बाहेक जनरल वर्कसका ११ लाख २४ हजार १ सय २६, सिभिल कार्यको ५ करोड ५९ लाख १ हजार, स्यानीटरी कार्यको १७ लाख ६९ हजार, इलेक्ट्रिक कार्यको १३ लाख ४५ हजार, प्रोभिजन कार्यका १२ लाख ४५ हजार, कन्टिजेन्सी ६ लाख १३ हजार, १३ प्रतिशत मुअ कर समेत गरी ८ करोड ५७ लाख २५ हजार ४ सय ३६ रुपैयाको इस्टमेट गरेको थियो । बोलपत्र बढावढमा किँरातेश्वर कम्पनीले ४ करोड ८१ लाख ८६ हजार २ सय रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।

भवन निर्माण कार्य सकिए लगत्तै स्थानीय सरकारले त्यसको ब्यवस्थापन गर्ने गरी कार्ययोजना तयार गर्न सुझाव दिएको वडा अध्यक्ष हर्कबहादुर तामाङले बताए ।