संरक्षणको अभावमा हराउँदै भीर मौरी


नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा संरक्षणको अभावमा भिर मौरी हराउँदै गएका छन् जसकारकारणले गर्दा मह शिकार संस्कृति नै लोपहुने अवस्थामा पुगेको छ ।

भिर मौरी पहराको काप अर्थात पानीले नभिज्ने र सकेसम्म हावा हुरीले पनि बढी नसताउने स्थानमा बस्ने गर्दछन् । पहाडको आकाशे भिरहरू जहा जो कोही जाने कल्पनासम्म पनि गर्दैनन्, त्यस्तो स्थानमा भिर मौरी बस्दछन् । तर हिजोआज डढेलो लगाउने, खेतबारीमा विषादीको प्रयोग र मह शिकारका बेलामा भिरमैरीका माउलाई मारिने र माउ मरेसँगै बच्चा पनि हुर्कन नसक्ने भएका कारणले गर्दा भिरमौरी हराउँदै गएको घलेगाउँका सुवेदार लिलबहादुर घले बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘आजको मान्छेलाई ऐलेको भाग एकछिन खान पाएँ पुग्यो, भोलिको सोच नै छैन ।’ आफँ जवान हुँदाका दिनमा महिनादिनसम्म पनि मह शिकार गरेर नसक्ने हुन्थ्यो अहिले त मैरी नै हराई सक्यो भन्नु हुन्छ उहाँ ।

उहाँका अनुसार मौरीको चरनका जंगल मासिएको कारणले पनि भिरमैरी लोप हुने स्थितिमा पुगेको हो । जहाँ मौरी हुन्छन्, त्यहाँ मह हुन्छ र बल्ल आउँछ मह शिकारको कुरा । तर मौरी नै नभएपछि केको मह शिकार सुउरुङ पर्यटन विकास समितिका सचिव उमर बहादुर गुरुङले बताउनु भयो । भिर मौरी संरक्षण कार्यमा सबैको चासो हुने पर्ने रहेछ । अब स्थानीय तहले यसको संरक्षणको योजना बनाउनु पर्छ उहाँले सुझाउनु भयो । हिजोआज त भिर मौरी देख्नै रहर भैसक्यो के को मह शिकार गर्नु ताघ्रिङ रामबजारका जितबहादुर गुरुङ बताउनु हुन्छ ।

२०७२ सालमा जिल्ला मौरी पालक संघले ढोडेनीमा आयोजना गरेको महोत्सवमा मह शिकार हुन्छ भनेर गई मह चाख्नसम्म नपाई रित्तै फर्कीनु परेको आजै हो जस्तो लाग्छ भन्नुहुन्छ पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कृष्णबहादुर आले ।

मह शिकार साहसिक खेल हो, यसले पर्यटकलाई आकर्षण पनि गर्न सक्छ तर अब त्यसको संरक्षणमा नगाल्ने हो भने यो संस्कृति नै लोप हुने स्थिति उत्पन्न भएको जिल्लाका भँगोलविद् एवम् मस्र्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापाले बताउनु भयो । उहाँका अनुसार वर्षमा दुई सिजनमा मह शिकार गरिनु पर्ने हो, तर अब त वर्षको एक पटक पनि हुन मुस्किल भैसक्यो ।

यस बारेमा मस्र्याङ्दी गाउँपालिकामा सम्पर्क गर्दा भिरमैरी संरक्षणको सोचमा गाउँपालिका छ, आउँदो आर्थिक वर्षबाट योजना बनाएर अघि बढ्छौँ सो गाउँपाकिलाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार अबका दिनमा एक वर्ष विराएर एउटा भिरमा मह शिकार गर्ने नीति गाउँपालिकाले तय गर्ने भएको छ ।