नेपाली वैज्ञानिकलाई स्वदेश फर्कन आग्रह


नेपाल समाचारपत्र, काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिँदै विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई देशको माया भए स्वदेश फर्कन आग्रह गर्नुभएको छ ।

पुनले स्वदेश फर्कि मुलुकको समृद्धिको लागी योगदान गर्न बिदेशमा रहेका नेपाली युवा बैज्ञानिकलाइ आह्वान गर्नुभयो । त्रिभुवन विश्वविद्यालय ‘रिकास्ट’को सहकार्यमा नेपाल पोलिमर इन्स्टिच्युटले आयोजना गरेको उन्नत सामग्रीसम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दे उपराष्ट्रपति पुनले यस्तो आह्वान गर्नुभएको हो ।

राजनीतीकरणका कारण वैज्ञानिकहरु विदेशिनुपरेको बुद्धिजीवीहरुको गुनासो

उहाँले नेपाल बिकास र समृद्धिको बाटो तर्फ अघि बढिरहेको भन्दै नेपाली बैज्ञानिक र अनुसन्धानकर्ताको स्वदेशमा खाचो रहेको बताउनुभयो । उहाँले नेपालमा रहेका बैज्ञानिक र नेपाल फर्कन चाहने बैज्ञानिकहरुका लागी सरकारले नेपालमा नै उचित सिप प्रयोग गर्न वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार गर्नका लागी मुलुकका सबै क्षेत्र बर्गको योगदान जरुरी रहेको बताउनुभयो ।

सम्मेलनमा सहभागी नेपाली बुद्धिजीवी तथा वैज्ञानिहरुले राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेशिनुपरेको बताएका हुन् । उनीहरुले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा सरकारको लगानी एकदमै न्यँन भएको र केही गर्छु भन्ने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत सहयोग र अवसर नदिएको गुनासो गरे ।

चार दिनसम्म चल्ने गोष्ठीमा बिभिन्न देशका बैज्ञानिक र अनुसन्धानकर्ताको सहभागीता रहेको छ । सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल, अमेरिका, ईटाली, दक्षिण कोरिया, भारत, चेक रिपब्लिक, जापान, जर्मनीलगायतका १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।

उक्त गोष्ठीका प्रमुख प्रा. डा. रामेश्वर अधिकारीले अध्ययन तथा अनुशन्धानको क्षेत्रमा मुलुकमा विधमान रहेका विभिन्न संस्थाहरुबीच सहकार्य र साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो ।