साढे २ अर्बभन्दा बढीको चिनियाँ सहयोग


काठमाडौं, (नेस)
मानवीय तथा विपद् व्यवस्थापन उपकरण खरिदका लागि चीनले नेपाललाई साढे २ अर्बभन्दा बढीको सहयोग गर्ने भएको छ ।

विपद् व्यवस्थापन परिचालनका लागि चीनले करिब २ अर्ब ५३ करोड रुपियाँको आर्थिक सहयोग उपलब्ध गराउने भएको हो । चीनको भ्रमणमा रहनुभएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र उहाँका चिनियाँ चिनियाँ समकक्षी एवं सो मुलुकका राज्यपरिषद् सदस्य वै फङहबीच शनिबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

चीनले आगामी पाँच बर्षमा उक्त सहयोग गर्ने बेजिइङस्थित नेपाली दूतावासले जनाएको छ । सो सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री पोखरेलले चिनियाँ सहयोगमा नेपालमा शान्ति तथा रक्षा विश्वविद्यालय स्थापनाका लागि समकक्षी वैलाई आग्रह गर्नुभएको बताइएको छ ।

पोखरेलको प्रस्तावप्रति सकारात्मक रहनुभएका वैले यसबारेमा सहयोग गर्न आफ्नो मुलुक तत्पर रहेको बताउनुभएको थियो । विश्वविद्यालय स्थापनासम्बन्धी ढाँचालाई दुवै पक्षबीचको आपसी वार्ताबाट टुङ्गो लगाइने दूतावासले जनाएको छ ।