दुर्घटनामा डीआईजीसहित चारको मृत्यु, तीन घाइते


भगवती तिमल्सिना/मोतीराम तिमल्सिना, काभ्रे ।
जिल्लाको मण्डन देउपुर–६ स्थित भाङेटारमा बा३च २८७ नम्बरको जिप दुर्घटना हुँदा डीआईजी सुशीलकुमार भण्डारीसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुने अन्यमा क्रियाशील पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका विनोद कार्की रहेका छन् भने अन्य तीन जना घाइते भएका छन् । पाँचखालमा भएको छुट्टै दुर्घटनामा स्थानीय एक महिलाको पनि मृत्यु भएको छ ।

मण्डन देउपुर–४ निवासी पत्रकार पराजुली प्रेस चौतारी काभ्रेका जिल्ला सदस्य एवं एबीसी टेलिभिजनका काभ्रे संवाददाता हुन् । साथै उनी हाल परीक्षणमा रहेको गौरव एफएमको स्टेसन म्यानेजर थिए । नमोबुद्ध नगरपालिका–१० निवासी कार्की नेपाली कांग्रेस ट्रेड युनियन प्रदेश ३ को अध्यक्ष रहेका थिए । पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको र डीआईजी भण्डारीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जानकारी दिएको छ ।

दुर्घटनमा मृत्यु भएका डीआईजी भण्डारी आज अस्ट्रेलिया जाने तयारीमा थिए । बोनेश्वर निवासी भण्डारीको परिवार अस्ट्रेलियामा रहेको बताइएको छ । साँझ अबेरसम्म पनि डीआईजी भण्डारीको आफन्त धुलिखेल अस्पताल आइपुगेका थिएनन् । उनको जेठी श्रीमतीसँग डिभोर्स भएको थियो । जिप दुर्घटनामा परी जिल्ला खेदकुद विकास समितिका उपाध्यक्ष एवं व्यवसायी प्रदीप बोगटी, मण्डन देउपुर–९ का धनराज पुरी र सशस्त्र प्रहरीका पूर्वडीएसपी विनोद गौतम घाइते भएका थिए । घाइतेमध्ये डीएसपी गौतमको अवस्था जटिल रहेको धुलिखेल अस्पतालले बताएको छ । जिप बोगटीको रहेको बताइएको छ ।

ब्रेक फेल भएको कारण जिप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । जिप प्रदीप बोगटीले चलाएका थिए । स्थानीय प्रत्यक्षदर्शी नेत्र ढकालले जानकारी दिएअनुसार जिप बनेपा पर्कदै गर्दा दुर्घटना भएको हो । उनका अनुसार हाइटेन्सन लाइनमा छुन लाग्यो भनेर छल्न खोज्दा जिप पल्टदै करिब २ सय मिटर तल पुगेको थियो । दुर्घटनमा मृत्यु हुनेको शव पोस्टमार्टमका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

अरनिको राजमार्गअन्तर्गत पाँचखालमा भएको छुट्टै दुर्घटनामा तीनपिप्ले निवासी रञ्जना गौतमको निधन भएको छ । तीनपिप्लेमा बा३ख ६४२ नम्बरको ट्रिपरले बा४२प १३५९ को मोटरसाइकललाई ठक्कर दिँदा गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच सवारी दुर्घटनामा मृत्यु भएका पत्रकार जीवन पराजुलीको पोस्टमार्टमपछि उग्रतीर्थघाटमा अन्त्यष्टि गरिने पारिवारिकस्रोतले जनाएको छ ।