दरबार हाई स्कुल स्थापनाको १ सय ६६औं दिवस मनाइयो



नेपाल समाचारपत्र, काठमाडौं
जंगबहादुर राणाले विसं १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालय दरबार हाई स्कुल स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा पुनरुत्थानवादी समूहले दरबार हाई स्कूल ९हालको भानु माध्यमिक विद्यालय० को मूल गेटभित्र १ सय ६६औं शिक्षा दिवस मनाएको छ।

पुनरुत्थानवादी नेपाल समूहकी नेता तारा बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम आयोजनाको औचित्य तथा आवश्यकतामाथि प्रकाश पार्नुभयो। नेपाल सरकारले शिक्षा दिवस मनाइरहेको अवस्थामा सो संस्थाले छुट्टै शिक्षा दिवस मनाएको हो।

नेपालमा औपचारिक शिक्षा प्रदान गर्ने र अंग्रेजी शिक्षा प्रदान गर्ने पहिलो विद्याल स्थापना भएको ऐतिहासिक दिन आश्विन २७ गते शिक्षा दिवस नमनाई अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘सेप्टेम्बर ८’मा मनाइनु इतिहासकै उपेक्षा र उपहास हुने बरालले बताउनुभयो। उहाँले नेपालको आफ्नै अस्तित्व तथा स्वामित्व भएको शिक्षा दिवसलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसमा गाभ्नुले नेपाली शिक्षा दिवसलाई छायामा पारेकोले पनि औपचारिक शिक्षा शुरू गर्ने नेपालकै पहिलो औपचारिक विद्यालय दरबार हाई स्कुल स्थापना भएकै दिन शिक्षा दिवस मनाउन समारोह आयोजना गरिएको जानकारी दिनुभयो।

उक्त समारोहमा पुनरुत्थानवादी समूह नेपालका तर्फबाट बहस गर्दै आउनुभएका अधिवक्ता कोषराज काफ्लेले नेपालमा अंग्रजी शिक्षा प्रदान गर्न औपचारिक विद्यालयको स्थापना गर्ने मात्र नभई नेपालमा नै पहिलो पटक छरिएर रहेका कानुनलाई एकीकृत र संहिताबद्ध गरी इतिहासमा पहिलो पटक मुलुकी ऐन १९१० जारी गरेर अतुलनीय योगदान दिने जंगबहादुर दिवसलाई इतिहासले कहिल्यै भुल्न नसक्ने भएकाले शिक्षा दिवसको आयोजना गर्नु बौद्धिक, ऐतिहासिक तथा कानुनी हिसाबले समेत उपयुक्त भएको दाबी गर्नुभयो।

समूह नेपालका नेता शरद्कुमार मिश्रले नेपालले नेपाल–भारतबीचको असमान सुगौली सन्धिका कारण गुमेका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जंगबहादुर राणाको पहलमा नै नयाँ नेपालका रूपमा फिर्ता गरिएकाले पनि उनको योगदानको कदर गर्दै असोज २७ गते शिक्षा दिवस मनाउनु उपयुक्त हुनुपर्ने कुरा बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्