“संविधान विरोधी र विखण्डनकारीलाई पराजित गर्न सेना तयार”

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी गतिविधि र विखण्डनवादी तत्वबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती र खतरालाई नेपाली सेनाले सूक्ष्मरूपबाट नियालेर निरन्तर निगरानी गरिरहेको बताउनुभएको छ।

प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक आफैले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले विगतमा सिकिएको पाठलाई आधार मानेर सम्भावित सुरक्षा चुनौती र खतरालाई जस्तोसुकै अवस्थामा पनि सम्बोधन गर्न नेपाली सेना तयार रहेको बताउनुभएको छ।

जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली सेना संविधानको संरक्षणका लागि जस्तोसुकै बलिदान गर्न नेपाली सेना तयारी अवस्थामा रहेको र नेपाली सेनाले त्यस्ता खालका गतिविधिलाई नजिकबाट नियालिरहेको पनि उहाँले बताउनुभयो।

प्रधानसेनापति थापाले मुलुकमा भोलिका दिनमा आइपर्न सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै लडाइँ लड्न सक्ने क्षमता अभिवृद्धि गर्नका लागि सेनामा सेवागत विशिष्टीकरणको अवधारणासमेत लागू गर्दै जुनियर तहको नेतृत्वलाई थप सक्षम, जिम्मेवार र जवाफदेही बनाई एकत्वपन हासिल गर्ने विशेष योजना ल्याइएको बताउनुभयो।

उहाँले नेपाली सेनाभित्र लामो समयदेखि रहेको आफन्तवादको अन्त्य गर्नुका साथै नेपाली सेनाद्वारा प्रदान गरिने अवसरमा भनसुन, निकटताको आधारमा प्राप्त हुँदै आएको अवसरलाई अन्त्य गरी कार्यक्षमताको आधारमा ती अवसर पाउने व्यवस्थासमेत गरिएको दाबी गर्नुभयो।

राजनीतिक निरपेक्ष चरित्र, राष्ट्रिय एकताको भावना र चेनअफ कमान्डमा अविछिन्न रहेको नेपाली सेनालाई राष्ट्रिय एकताको आस्थाका आधार बनाउँदै लैजाने लक्ष्य लिएको बताउनुभयो।
उहाँले आफ्नो कार्यकालमा ७ वटा सांगठनिक लक्ष्य र १ सय ५१ वटा कार्यहरू निर्धारण गरेको बताउँदै ‘नेपाली सेना भिजन २०३०’ तयार गरी दीर्घकालीन लक्ष्य तय गरिएको पनि बताउनुभयो।
सबै सुरक्षा निकायबीच आन्तरिक र बाहरय सुरक्षाका लागि नेपाली सेना परिचालित भएको अवस्थामा आवश्यक एकीकृत कमान्डसम्बन्धी अवधारणाको विकास गर्ने लक्ष्य लिएको र मुलुकको सुरक्षा अवस्थालाई कमजोर हुन नदिन आफू लागिपरेको पनि उहाँले जानकारी दिनुभयो।

नेपाली सेनाको हालको संरचनालाई विकेन्द्रीकरण गरी सबै तहका कमान्डरलाई आफ्नो जिम्मेवारीप्रति उत्तरदायी बनाउन नेपाली सेनामा मिसन कमान्डको अवधारणा लागू गरिएको र यसले संगठनमा माथिल्लो कमान्डरको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुने पनि उहाँले बताउनुभयो।

उहाँले यो अवधारणा जंगी अड्डामा पूर्णरूपमा लागू भइसकेको र सुदूरपश्चिम पृतनामा लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो। यस्तो अवधारणा मुलुकभरका सबै सैनिक ब्यारेकमा लागू गर्ने पनि उहाँले जानकारी दिनुभयो।

नेपाली सेनाले नागरिक सर्वोच्चतालाई सर्वाेपरि मान्दै आएको अवस्थामा यदाकदा यसलाई नेपाली सेनाको लोकतान्त्रीकरण भन्ने गरिएको आफूले पाएको बताउँदै यसलाई नेपाली सेनाको व्यवसायीकरणभन्दा राम्रो हुने तर्क प्रधानसेनापतिले राख्नुभएको थियो।

नेपाली सेनाको संख्याका बारेमा बेलाबेलामा विभिन्न टिकाटिप्पणी हुने गरेको बताउँदै बिगतको द्वन्द्वकालमा नेपाली सेनाको आकार बढेकाले सेनाको यसको पुनर्संरचना हुनु जरुरी छ तर पुनर्संरचना गर्नुअघि त्यसबारे सोच्नुपर्ने अवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो।

बजेट कटौती गर्ने नाममा बिनाआधार सेनाको संख्या कटौती गर्दा त्यसले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले त्यसतर्फ सरकारको ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो।
राष्ट्रिय गौरवको काठमाडांै–तराई/ मधेश द्रूतमार्ग समयभित्रै सम्पन्न गर्ने चुनौती नेपाली सेनाको काँधमा रहेको बताउँदै प्रधानसेनापति मुलुकको विकास निर्माणमा नेपाली सेनाको भूमिका उल्लेखनीय रहेको दाबी गर्नुभयो।

नेपाली सेनाको मातहतमा रहेको सैनिक विशेष अदालतले अहिले अनपेक्षित रूपमा काम गर्न नसकेकाले यसलाई प्रभावकारी बनाउन अदालतको संरचनालाई आमुल परिर्वतन गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो।

नेपाली सेनाको मातहतमा रहेको महांकालस्थित त्रिचन्द्र मिलिटरी अस्पतालको बारेमा आएको गुनासोलाई सम्बोधन गर्न सेनाले कार्य प्रारम्भ गरेको जानकारी दिदैं प्रधानसेनापति थापाले सेनाद्वारा सञ्चालित कल्याणकारी कार्यक्रमलाई पारदर्शी बनाइएको दाबी गर्नुभएको छ।

उहाँले नेपाली सेनामाथि व्यापार गरेको आरोपको बचाउ गर्दै सेनाका बहालवाला १ लाख र पूर्वसैनिक तथा हिताधिकारीहरूको संख्या ८ लाखलाई अविछिन्न रूपमा सेवा दिँदै आएकाले रकमको जोहो गर्न केही कल्याकारी कार्यलाई निरन्तरता दिनुपरेको पनि बताउनुभयो।