नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैँका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण गर्ने जानकारी गराएको हो ।
खाद्य संस्थानका अनुसार बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जनाईएको छ । शुक्रबारसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याउने संस्थानको योजना छ । त्यस्तै हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने योजना रहेको बताइएको छ ।
शुक्रबार विहान ८ बजेबाट खसी, बोका र च्याङ्ग्रा विक्री वितरण हुनेछन् । बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ ।
बिहिबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ ।
संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्दै आएको छ । यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउँन कठिनाई भईरहेको संस्थानको भनाई छ ।











प्रतिक्रिया