मुटुरोग जटिल बन्दै छ



विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनि करिब २ करोड मानिसको हृदयघात र मुटुसम्बन्धी समस्याका कारण मृत्यु हुने गरेको छ । नेपाललगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिनानुदिन बढ्दै गएको छ । नेपालमा हाल २५ प्रतिशत मानिस मुटुरोगबाट पीडित रहेको अध्ययनले देखाएको छ । यही अनुपातमा हेर्ने हो भने नेपालमा झन्डै ७६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटुरोग लाग्ने गरेको छ ।

चिकित्सकहरुका अनुसार धूमपान तथा मद्यपानको सेवन, धेरै चिल्लो, पिरो, बोसो, भुटेतारेका खानेकुरा र मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनले गर्दा मुटुरोग लाग्ने गरेको छ । उपरोक्त शैलीमा सुधार गरी सकभर मासु कम खाने, सागपात बढी खाने र दैनिक शारीरिक व्यायाम गर्दा मुटुरोगबाट बच्न सकिन्छ । तर, पछिल्लो समय मानिसको जीवनशैलीकै परिवर्तनले नेपालमा मुटुरोग जटिल र भयानक बन्दै गइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदनअनुसार अस्वस्थकर जीवनशैली, अनियमित खानपान, वंशाणुगतजस्ता कारणले मुटुरोग लाग्छ । मुटुसम्बन्धी रोगकै कारण विश्वभर बर्सेनि १ करोड ७३ लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेको अवस्था छ । नेपालमा मात्रै बर्सेनि ३ हजार ३३८ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा मुटुरोग बढ्नुमा नेपाली आकाशमा घोलिएको विषाक्त हावालाई कारक मानिएको छ । वायु प्रदूषणले गर्दा नेपालमा बर्सेनि ९२३ जना फोक्सोको क्यान्सर, १ हजार ७७० जनामा दम र ७४० जनामा तल्लो श्वासनलीको संक्रमण हुने गरेको छ । यी सबैका कारण बर्सेनि ९ हजार ९४३ जना नेपालीको अकालमा मृत्यु हुने गरेको पनि डब्लुएचओ प्रतिवेदनमा उल्लेख छ ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटुरोगीको संख्या १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ । नेपालमा हृदयघातसँगै उच्च रक्तचाप र मधुमेहजस्ता घातक रोग तीव्र गतिमा बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

मुटु हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण र संवेदनशील अंग हो । मानिस स्वस्थ रहन मुटु पनि स्वस्थ हुनु अनिवार्य छ । अस्वस्थ जीवनशैलीसँगै धूमपान, मोटोपना, शारीरिक अभ्यासको कमी, असन्तुलित आहार, अल्छीपना, फास्ट फुडको अत्यधिक प्रयोग र मानसिक तनावले गर्दा पनि मुटुरोग लाग्ने चिकित्सकहरु बताउँछन् ।

विश्वभरका सरकार प्रमुख एवम् स्वास्थ्य संगठनहरुले सन् २०२५ सम्म नसर्ने रोगहरुलाई २५ प्रतिशत कम गर्ने दिगो लक्ष्य राखेका छन् । तर, सन् २०२० सम्म नै मुटुरोगबाट विश्वभर मर्नेको संख्या बर्सेनि २ करोड ५० लाख पुग्ने देखिएको छ । मुटुरोगको यही क्रम बढ्दै जाने हो भने नेपालमा पनि मर्ने मानिसमध्ये ५० प्रतिशत हृदयघातलगायत मुटुसम्बन्धी रोगका कारणले मात्रै मर्ने देखिन्छ । पछिल्लो समय युवा अवस्थामै मुटुसम्बन्धी समस्या देखिनु डरलाग्दो अवस्था हो । त्यसैले मुटु स्वस्थ राख्न बेला–बेलामा स्वास्थ्य परीक्षण गराउने, खानपिन र जीवनशैलीमा ध्यान दिनु जरुरी देखिन्छ ।
– मनोज भण्डारी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्