इलामको खाली घरमा सकेट र सुतली बम फेला

0
Shares

इलाम ।
इलाम सदरमुकाममा आइतबार बिहानै सकेट र एउटा सुतली बम फेला परेको छ । इलामनगरपालिका ७ नारायणस्थान मन्दिर नजिकै रहेको एक घरमा बम फेला रहेको हो । सो घरमा तत्कालिन नेकपा माओवादी केन्द्रको पुरानो पार्टी कार्यालय रहेको थियो । अहिले सो घर खालि अवस्थामा रहेको छ ।
प्रहरीका अनुसार उक्त खालि घरमा दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको हो । एकान्तमा रहेको भवनमा भेला भएर स्थानीय युवाहरुले लागु औषध सेवन गर्ने गरेको सुचना पाएपछि प्रहरी भवनमा पुगेको थियो । कोठाहरु खुल्लै रहेको भवनमा हेर्दा तीनवटा शंकास्पद बस्तु भेटेको जनाएको छ । उक्त बस्तु जाँच गर्ने क्रममा बम भएको पुष्टि भएको थियो । बम फेला परेपछि प्रहरीले नेपाली सेनालाई जानकारी गराएको र अहिले सो बम पशुपति प्रसाद गण इलामको बम डिस्पोजल टोलिले डिस्पोज गरीसकेको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भटटराईले बताए । सो बम कसले राख्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि मारवाडी सेवा समाजको भवनमा जिल्ला पार्टी कार्यालय राखेको थियो । एमालेसँग पार्टी एकीकरण भएपछि माओवादीले जिल्ला कमिटिको कार्यालय रहेको मारवाडी सेवा समाजको भवन छाडिसकेको छ । सो घर काठको दुईतलाको जिर्ण अवस्थामा रहेको छ । सो भवन अहिले इलाम नगरपालिकाले आफनो स्वामित्वमा ल्याउन प्रकृया अघि बढाइसकेको जनाएको छ ।