एपेक्स काण्डका धितालले एनसीसी छोडे, राष्ट्र बैंकका कर्मचारीले फसाएको आरोप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको १ अर्ब ५० करोड ९६ लाख रुपियाँ बराबरको घोटाला प्रकरणमा ४ महिनाअघि पक्राउ परेका तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णु धितालले एनसीसी बैंकको सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।

केही समयअघि उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका धितालले आफँलाई राष्ट्र बैंकका कर्मचारीले सुनियोजित रुपमा फसाएको आरोप लगाएका छन् । शुक्रबार एनसीसी बैंकको सञ्चालक समितिबाट राजीनामा दिएका धितालले एनसीसी बैंकलाई राष्ट्र बैंकको आन्तरिक राजनीतिको चेपुवामा पारेको नेपाल समाचारपत्रसँग बताए । एपेक्स घोटाला प्रकरणसँग जोडेर नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई हटाउने गरी राष्ट्र बैंककै कर्मचारीको ‘ग्रँन्ड डिजाइन’मा एपेप्स काण्ड तयार पारिएको धितालको भनाइ छ ।

राष्ट्र बैंकले आन्तरिक अनुसन्धान नै नगरी मुद्दा सीआईबीमा पठाएर राष्ट्र बैंकका केही खराब कर्मचारी र एनसीसी बैंकभित्रका माफियाले सुनियोजित रुपमा आफुहरुलाई फसाएको उनको आरोप छ ।

२०७२ मंसिर ११ गते नेपाल क्रेडिट एन्ड कमर्स बैंक र तत्कालीन एपेक्स डेभेलपमेन्ट बैंक मर्जरमा जाने औपचारिक सहमतिपछि त्यसको फाइदा उठाउँदै एपेक्स बैंकका तत्कालीन अध्यक्ष, सञ्चालकलगायत उच्च कर्मचारीको मिलेमतोमा अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेको आरोपमा सीआईबीले चार महिनाअघि २१ जनालाई पक्राउ गरेको थियो ।

तर, धितालले भने मर्ज हुने समयमा राष्ट्र बैंकका प्रत्यक्ष निगरानी र निर्देशनमा मर्ज भए पनि त्यसको २ वर्षपछि आफँलाई दुःख दिने नियतले नै कारबाही गरिएको बताए । ‘त्यो कारबाही राष्ट्र बैंकको क्षेत्राधिकारभित्र थियो । तर, सीआईबीलाई फाइल पठाएर आतंकारी शैलीमा मलाई पक्राउ गरियो ।’ धितालले भने ।

राष्ट्र बैंकका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा उच्च तहमा रहेका कर्मचारीको मिलेमतोमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकले कमसल धितो प्रयोग गरी ऋण प्रवाह गरेको भेटिएको थियो । दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगन्ज शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैंकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपियाँ नोक्सानी पु¥याएको भन्दै राष्ट्र बैंकले थप अध्ययनका लागि सीआईबीलाई जिम्मा लगाएको थियो ।