१८ करोड बक्यौता राखेको एयर एसियाले उडान बन्द गर्दै

0
Shares

काठमाडौं,(नेस)
मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसिया एक्सको काठमाडौं उडान बन्द गर्ने भएको छ । असोज २७ गतेदेखि कम्पनीले उडान बन्द गर्ने भएको छ ।

‘हामीलाई एयर एसियाबाट असोज २७ गतेदेखि नेपाल उडान बन्द गर्ने औपचारिक पत्र प्राप्त भएको छ,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भन्नुभयो । मलेसियामा नेपाली कामदार जानमा रोकिएपछि विमानबाट मलेसिया जाने यात्रु कम हुँदा कम्पनी घाटामा चलिरहेको थियो ।

कम्पनीले त्रिभुवन विमानस्थललाई सेवा उपयोग गरेवापत तिर्न बाँकी रहेकोे बक्यौतामध्ये २३ करोड रुपियाँ चुक्ता गरेको थियो, भने अझै १८ करोड रुपियाँ बक्यौता रहेको छ ।

जसमा ५ करोड सेवा शुल्क र १३ करोड विलम्व शुल्क रहेको छ । यता कम्पनी बक्यौता रकम बाँकी हुँदा कम्पनीले उडान बन्द गर्नुमा कतै बक्यौता नतिर्ने रणनीति भएको हल्ला चले पनि विमानस्थलले भने बक्यौता रकम उठाइ छाड्ने जनाएको छ । कम्पनीले उडान बन्द गर्नु भन्दा पहिले नै बक्यौता उठाई सक्ने महाप्रवन्धक क्षेत्रीले बताउनुभयो ।

मलेसियाबाट काठमाडौं र काठमाडौंबाट मलेसिया सीधा उडान गर्दै आएको उक्त कम्पनीले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको करिब ३ वर्ष यताको बक्यौता तिर्न बाँकी रहेको थियो ।