शेयर बजारमा उत्साह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
लामो समयसम्म निरन्तरको गिरावटका कारण घटेको शेयर बजारमा यस साता वृद्धि भएको छ । यस साताको अन्तिम कारोबार दिन नेप्सेमा गिरावट आए पनि समग्रमा यससाता लगानीकर्ताका निम्ति उत्साहप्रद नै रह्यो । नेप्से परिसँचक साताको पहिलो दिनको तुलनामा ३९ दशमलव ४९ अंकले बढेर अन्तिम दिन १२२९ दशमलव ७७ अंकमा पुगेर बन्द भएको छ । यससँग समग्र बजार पुँजीकरण १४ खर्ब ६४ अर्ब ६५ करोड ४६ लाख रुपियाँ पुगेको छ ।

यस साता कुल १९३ कम्पनीको शेयर ३२ हजार २८५ पटक कारोबारबाट २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपियाँ बराबरको १ करोड २ लाख ५५ हजार ५ सय ८० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २५९.३४ प्रतिशत बढी हो । गत साता १८० कम्पनीको कारोबार भएको थियो ।

जस अनुसार ११ हजार ७८८ कारोबारबाट ८० करोड ३० लाख ७ हजार रुपियाँ बराबरका २५ लाख ४२ हजार ७ सय १० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पहिलो दिनको तुलनामा ८ दशमलव ५५ अंकले बढेर २६० दशमलव ३५ अंकमा पुगेको छ ।

यस साता कारोबार रकम (२२ करोड ५० हजार, कारोबार भएको शेयर संख्या (६ लाख ६४ हजार कित्ता) र कारोबार संख्या (१५४६ वटा) को आधारमा एनएमबि बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता नेपाल स्टक एक्सचेन्जमा तीनवटा कम्पनीको ६८ लाख ९ हजार ६३३ दशमलव ९४ कित्ता शेयर सँचीकृत भएका छन् ।