लाप्राकको पुनर्निर्माण छिट्टो सक्न दबाब

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा बनाइरहेको एकीकृत नमँना वस्तीको छिट्टो पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एनआरएनएलाई आग्रह गरेको छ । पुनर्निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ सञ्चालन गर्न सम्भव आयआर्जनका कार्यक्रमबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एनआरएनएका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भँकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकरात्मक सन्देश जाने भएकाले बस्ती पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गर्नु भयो । उहाँले बाँकी कार्यको निश्चित समयरेखा निर्माण गरी कार्य गर्न र त्यहाँ आर्य आर्जनको पनि योजना बनाउन पनि सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो–‘प्राधिकरणले पुनर्निर्माणका क्रममा एकीकृत नमँना बस्तीलाई प्रोत्साहन गर्ने नीति लिएकाले लाप्राकको एकीकृत बस्ती पुनर्निर्माणको अनुभव अन्य क्षेत्रलाई पनि अनुशरणयोग्य हुनेछ ।’

ज्ञवालीले पुनर्निर्माणको कार्य शीघ्र सम्पन्न गर्न प्राधिकरणका तर्फबाट आवश्यक पर्ने सहयोगका लागि तयार रहेको पनि बताउनुभयो ।

एनआरएनएका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानीका लागि बाटोको समस्या तथा विकटताका बाबजुद लाप्राक पुनर्निर्माण कार्य शीघ्र सम्पन्न गर्न एनआरएनए नेतृत्व कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले भौतिक पुनर्निर्माण सकिएपछि होमस्टेसहितका पर्यटन प्रवद्र्धन, विभिन्न कृषि तथा पशु विकासका कार्यक्रमको बारेमा योजना बनाइएको जानकारी दिनु भयो । लाप्राकमा एनआरएनएले भँकम्प प्रभावितका ५७३ घरहरु निर्माण गरिरहेको छ ।