भारतबाट अवैध रूपमा सिमेन्ट तस्करी



सरोज यादव, विराटनगर ।
भारतबाट नेपालतर्फ अवैध रूपमा सिमेन्टको तस्करी हुने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले ट्याक्टरमा लोड गरी नेपाल ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा सिमेन्टसहित एकजना ठेकेदार पक्राउ गरेपछि सिमेन्ट तस्करी हुने गरेको खुलेको हो । विराटनगर–१८ भेडियारीबाट १ सय ५० बोरा सिमेन्टसहित ठेकेदार पङ्कजकुमार यादवलाई इप्रका रानीले पक्राउ गरेको हो । को. १ त ८४५ नम्बरको ट्याक्टरसहित ठेकेदार यादवलाई पक्राउ गरिएको इप्रका रानी विराटनगरका प्रहरी निरिक्षक सन्तोष निरौलाले बताए । भारतमा उत्पादित ‘कङ्क्रिटो फाइभ एड्भान्टेज’ नामक सिमेन्ट ल्याउने क्रममा एक सय ५० बोरा बरामद गरिएको निरौलाले बताए । पक्राउ परेका यादव भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको निर्माणाधीन रेल–वे लाइनका पेटी ठेकेदार समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ठेकेदार यादवकै सक्रियतामा सिमेन्ट तस्करी हुने गरेको पाइएपछि रेल–वे निर्माणमा समेत तस्करी गरेर ल्याइएको भारतीय सिमेन्टकै प्रयोग हुने गरेको आशङ्कामा थप अनुसन्धान अघि बढाइएको उनले बताए । ट्याक्टर चालक भने फरार भएको प्रहरीले बताएको छ । यादवले शुरूमा सिमेन्ट आफ्नो नभएको दाबी गरिरहे पनि अनुसन्धान गर्दै जाँदा सिमेन्ट यादवकै भएको र उनी लामो समयदेखि सिमेन्ट तस्करीमा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ ।
भारतबाट सस्तोमा तस्करीको सिमेन्ट ल्याएर नेपालमा निर्माणाधीन व्यक्तिगत संरचनाका लागि बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । नेपालमा प्रतिबोरा सिमेन्टको मूल्य साढे नौ सय रूपैयाँ पर्दछ । भारतमा साढे पाँच सयदेखि ६ सय रूपैयाँसम्म पर्छ । नेपालमा ल्याउँदा प्रतिबोरा ३ सयदेखि ४ सय रूपैयाँसम्म फाइदा हुने भएकोले भारतबाट नेपालतर्फ तस्करी हुने गरेको प्रहरीका अधिकारीहरू बताउँछन् । पक्राउ परेका यादवले एक पटकमा भारतबाट एक ट्याक्टर सिमेन्ट ल्याएर यहाँ बिक्री गर्दा ४५ हजार रूपैयाँसम्म फाइदा लिने गरेको बताएका छन् । प्रहरीले बरामद भएको सिमेन्ट र नियन्त्रणमा लिइएको ट्याक्टरसहित यादवलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्