म्याग्दी जिल्लाकै ठुलो अस्पताल निमार्ण कार्यमा ढिलाई, ठेकेदारको चरम लापरवाही



प्रताप बानियाँ, म्याग्दी ।
जिल्लामै पहिलोपटक सबैभन्दा ठूलो सरकारी संरचनाको भवन निर्माणकार्य सुरु भए पनि यसले गति लिन सकेको छैन । सदरमुकामस्थित बेनी अस्पताल परिसरमा निर्माण हुन लागेको ५० शैया क्षमताको अस्पताल भवनको निर्माण कार्यमा ढिलाई भएको हो ।

२०७३ साल मंसिर २१ गते निर्माण सम्झौता भएको भवनले हालसम्म जुन रुपमा गति लिनुपर्ने हो त्यो अनुसार काम नभएको बेनी अस्पतालले जनाएको छ । भवन निर्माणमा ठेकेदारबाट ढिलासुस्ती भएको बताइएको छ । गत आर्थिक वर्षको मंसिर महिनादेखि भवन निर्माणकार्य सुरु भएको भवनको अहिलेसम्म पहिलो तलाको काम सुरु हुनुपर्ने भए पनि अझै जग निर्माणले पूर्णता पाउन सकेको छैन ।

शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले निर्माण व्यवसायीले भवन निर्माणको काममा ढिलाई गरेपछि सम्झौता बमोजिमको कार्यतालिका अनुसार काम नगरेकाले पेश्की जमानत जफत प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।

कार्यालय प्रमुख प्रकाश अर्यालले ठेकेदारले सम्झौता अनुसार काम अगाडि नबढाएको हुँदा पेश्की जमानत फिर्ताका लागि बैंकलाई चिठी लेखिएको बताए । उनले ठेकेदारबाट आगामी ३ हप्ताभित्र अस्पताल भवन निर्माण द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता आएको हुँदा निर्माणले गति नलिए ठेक्का तोड्ने प्रक्रिया पनि अघि बढ्ने बताए ।

उता महादेव खिम्ती गल्वा रफिना जेभी कम्पनी काठमाडौंका आधिकारिक प्रतिनिधि रविन जोशीले भने पुरानो संरचना भत्काएर नयाँ संरचना निर्माण गर्दा भवन निर्माणमा केही ढिलाई भएको बताएका छन् । उनले बाटो र पाइपलाइन निर्माण, जग खन्ने, ब्रेकर लगाउनुपर्ने, वर्षात्को समय र बालुवा परीक्षण गरेर मात्रै काम अगाडि बढाउनुपर्ने भए पनि निर्माणकार्य निरन्तर रुपमा अगाडि बढाइएको दावी गरे ।

शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयबाट अहिलेसम्म पनि डिटेल स्टिमेट पाउन नसकेको बताउँदै ठेकेदार जोशीले सुरुमा कार्यालयबाटै ढिलाई भएको प्रतिक्रिया दिएका छन् । भवन निर्माणका लागि आफ्नो कम्पनीबाट आवश्यक पहल भैरहेको उनको भनाइ छ ।

उनले सबै क्षेत्रबाट ठेकेदारलाई पेल्ने काम भैरहेको भन्दै अब कामले गति लिने बताए । बिहीबार मात्रै काठमाडौंबाट १९ जना कामदारहरु भवन निर्माणका लागि बेनी गएको हुँदा निर्माणकार्यले गति लिने उनले बताएका छन् ।

बेनी अस्पताल परिसरमा निर्माणाधीन भवन आधुनिक सुविधासम्पन्न बन्दैछ । तीन वर्षअघि क्षमता विस्तार भएको अस्पतालको शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्वारा ठेक्का प्रणालीमार्फत निर्माणकार्य सुरुवात गरिएको थियो ।

कुल ४ हजार ९६३ वर्गमिटर क्षेत्रफल (करिब ५० हजार वर्गफिट)मा निर्माण हुने भवनमा ४ तला रहेको छ । काठमाडौंको महादेव खिम्ती गल्वा रफिना जेभी कम्पनीसँग निर्माण सम्झौता भई निर्माणकार्य अगाडि बढाइएको छ ।

भ्याटसहित १८ करोड ८४ लाख आठहजार ८९ रुपैयाँको लागतमा भवन निर्माण गर्ने ठेक्का सम्झौता छ । तर, भवन निर्माणको सर्वेक्षणका क्रममा कुल २४ करोड चारलाख २९ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको थियो ।

राष्ट्रिय भवन निर्माण आचारसंहिता अनुसार भूकम्पप्रतिरोधी र अपाङ्गतामैत्री भवन निर्माण गर्न लागिएको कार्यालयको भनाइ छ । आगामी २०७६ साल मंसिर २० गते निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको भवनको अर्ध भुइँसिँढीमा लौन्ड्री, शवगृह र क्यान्टिन, भुइँतलामा ईमरजेन्सी, प्रसुतिकक्ष, ल्याब र रेडियोलोजी, पहिलो तलामा अन्तरङ्ग विभाग, शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), र दोस्रो तलामा अस्पताल प्रशासन रहनेछ ।

अस्पताल भवनसँगै चार–चार परिवार नर्स र डाक्टरको आवास भवन निर्माणका लागि समेत ठेक्का प्रणालीमार्फत भवन निर्माणकार्य भैरहेको छ । अस्पतालको पुरानो भवन रहेको ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हुँदा पहिलाको भवनबाट दिइँदै आएको सेवा अस्थायी संरचनाबाट दिने व्यवस्था मिलाइएको छ ।

पुरानो संरचना भत्काए पनि स्वास्थ्य सेवामा कुनै कमी आउन नदिएको बताउँदै नयाँ भवन निर्माणाधीन अवस्थामा रहेकाले अस्थायी संरचनाबाट सेवा प्रवाह भैरहेको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

नयाँ भवन निर्माणपछि क्षमता अनुसारको प्रभावकारी सेवा प्रवाह गर्न सहज हुने बेनी अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा. रोशन न्यौपानेले बताए ।

बेनी अस्पतालमा पछिल्लो समय दक्ष जनशक्ति व्यवस्थापनका साथै उपकरणको समेत विस्तार गरिएको छ । १५ शैया क्षमताको अस्पताल २०७२ सालमा तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारी र अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीको पालामा ५० शैयामा स्तरोन्नति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्