टीका बन्धन, काठमाडौं
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यालय प्रयोजनार्थ पञ्चायतकालीन पोसाक दोहो¥याएको छ । विभाग र मातहतका कर्मचारीका लागि निजामती र पञ्चायतकालीन दुई थरी पोसाक अनिवार्य गरिएको हो ।
निजामती पोसाकसहित गाढा हरियो र कफी रङ मिश्रित पाइन्ट, घ्यु रङ मिश्रित सर्ट र पाइन्टकै रङ मिल्दोजुल्दो ज्याकेट र स्वेटर लगाउनुपर्ने व्यवस्था तोकिएको हो । यस्तो पोसाक वन्यजन्तु विभाग र मातहतका निकायमा कार्यरत कर्मचारीका लागि २०४४ सालमा अनिवार्य गरिएको थियो । सबै सरकारी कार्यालयमा सेतो सर्ट र नीलो पाइन्ट, नीलो कोर्ट÷स्वेटर अनिवार्य गरिएसँगै पुरानो पोसाक हटेको थियो ।
विभागले चालू आर्थिक वर्षदेखि निजामती पोसाकसहित बुधबार र बिहीबारका लागि यस्तो पोसाक अनिवार्य गरेको छ । बुधबार र बिहीबारका लागि तोकिएको ‘डे«सकोर्ड’ पञ्चायतकालीन नभएर वन्यजन्तु मैत्री पोसाक भएको बताउँदै विभागका महानिर्देशक मनबहादुर खड्काले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय अभ्यासको वन्यजन्तु मैत्री पोसाकलाई (रिभाइभ) पुनः जीवन दिइएको हो ।’ विभागसहित विभिन्न १२ निकुञ्ज, ६ संरक्षण क्षेत्र, कोसी टप्पु वन्यजन्तु आरक्ष र ढोरपाटन शिकार आरक्षमा कार्यरत कर्मचारीका लागि यस्तो पोसाकको व्यवस्था गरिएको हो ।
गत वर्ष माघ दोस्रो साताको मन्त्रिपरिषद्को बैठकले पुरानो पोसाक दोहो¥याउने निर्णय गरेकोमा विभागले चालू आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याएको हो । निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रमा सेनासँगको संयुक्त गस्तीमा एक रुपता ल्याउन र अन्तर्राष्ट्रिय स्तरमा सफल प्रमाणित भइसकेको वन्यजन्तुमैत्री पोसाकको व्यवस्था भएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिनुभयो । ‘वन्यजन्तु मैत्री पोसाक ब्युँत्याउन विगत ३ वर्षदेखि पहल भएको थियो, ढिलै भए पनि यसपटकदेखि कार्यान्वयनमा आएको छ’ –उहाँले भन्नुभयो ।
वन्यजन्तु मैत्री पोसाकमा सेना र प्रहरी पोसाकको झल्को देखिने झैं सर्टको खल्तीको दाहिने तर्फ नेमप्लेट र नेमप्लेटमा दर्जाअनुसारको रङ अनिवार्य गरिएको छ । सह–सचिव स्तरका कर्मचारीका लागि रातो, उप–सचिव स्तरका लागि हरियो, अधिकृतस्तरलाई नीलो, राजपत्र अनंकितका लागि पहेंलो र श्रेणीविहीनका लागि सेतो रङ तोकिएको छ ।
त्यसै गरी सर्टको देब्रेतर्फ विभागको प्रतीक चिन्ह (मेटल लोगो) र देब्रे पाखुरामा सरकारी लोगो राख्ने व्यवस्था गरिएको छ । फिल्डमा खटिने कर्मचारीलाई हरेक बार वन्यजन्तुमैत्री पोसाक अनिवार्य गरिएको छ भने हिमाली र उच्च पहाडी भेगमा खटिने कर्मचारीका लागि पोसाक केही बाक्लो व्यवस्था गरिएको रुपाखेतीले जानकारी दिनुभयो ।











प्रतिक्रिया