बेरुजु घटाउन प्रमको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र मुलुकी प्रशासनको आर्थिक कारोबारमा शुद्धता, स्वच्छता र पारदर्शिता कायम गर्न राजनैतिक शुद्धता र नेतृत्व तहको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

मंगलबार चालँ आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षण योजना सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि वित्तीय अनुशासन कायम राख्ने र सेवा प्रवाहमा सुधार गर्ने विषयमा नतिजामुखी कार्य गर्न सरकारका लेखा उत्तरदायी अधिकृतलाई निर्देशनसमेत दिनुभयो । आर्थिक कारोबारमा रहेका कानुनी जटिलता र वित्तीय अनुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले बढ्दो बेरुजुले सार्वजनिक प्रशासनमा रहेको आर्थिक अनुशासनको स्तर मापन हुने उल्लेख गर्नुभयो ।

सार्वजनिक निकायमा रहेको बेरुजु फछ्र्यौटमा तदारुकता देखाई आगामी दिनमा बेरुजु सिर्जना हुन नदिने अवस्था निर्माणका सबै सबै तह र क्षेत्रको सक्रियता आवश्यक रहेको उहाँको भनाइ छ । बेरुजुभित्र रहेका गम्भीर प्रकृतिका भ्रष्टाचारजन्य क्रियाकलाप पहिचान गरी कारबाही गर्न तथा महालेखापरीक्षकको प्रतिवेदन कार्यान्वनमार्फत् जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाई बेरुजु फछ्र्यौट गर्न महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिनुभयो ।

उक्त अवसरमा महालेखापरीक्षक टंकमणि शर्माले महालेखापरीक्षकको ५५औं वार्षिक प्रतिवेदनका मुख्य विषयवस्तु प्रस्तुत गर्दैै मुलुकको वित्तीय अनुशासनको विद्यमान स्थितिमा सुधार गरी नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी उहाँले विकास निर्माण, राजस्व आम्दानी र खर्च, सेवा प्रवाहलगायत वित्तीय प्रशासनका विविध पक्षमा देखिएका कमजोरी सुधारका लागि महालेखापरीक्षकको प्रतिवेदनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने धारणा राख्नुभयो ।

सोही कार्यक्रममार्फत् संघ, प्रदेश र स्थानीय तहको चालू आर्थिक वर्षको लेखापरीक्षण साउन १५ गतेदेखि माघ मसान्तसम्म ३ चरणमा सम्पन्न गरी चैत मसान्तभित्र राष्ट्रपतिसमक्ष बार्षिक प्रतिवेदन पेश गर्ने कार्य तालिकासमेत निर्धारण गरिएको छ ।