नक्कली औषधिको कारोबार गर्ने व्यवसायी पक्राउ

0
Shares

विराटनगर, (नेस)
नक्कली औषधिको कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले विराटनगरबाट एक भारतीयसहित तीनजना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । मोरङ प्रहरीले आइतबार मध्यरातमा विभिन्न पांँचवटा औषधि पसलमा छापा मारेर २ जना सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

आइतबार दिउँसो प्रहरीले औषधि बिक्रेता भारत सिलीगुडीमा औषधि व्यापार गर्ने जीवन अग्रवाललाई नियन्त्रणमा लिएपछि विराटनगरसहित अन्य क्षेत्रमा नक्कली औषधि कारोबार हुने गरेको रहस्य खुलेको थियो । अग्रवाल पक्राउ परेपछि अनुसन्धान गरेको प्रहरीले अग्रवालले नक्कली र नेपालमा स्वीकृत नभएका औषधि सप्लाई गर्दै आएको फार्मेसीहरुमा छापा मारेको थियो ।

प्रहरीले न्यँरो अस्पतालभित्र सञ्चालित लाइफ सर्पोट फार्मेसी, विराट मेडिकल कलेजमा सञ्चालित विराट फार्मेसी, म्याक्स अस्पतालमा सञ्चालित म्याक्स फार्मेसी, गोल्डेन अस्पतालमा सञ्चालित गोल्डेन फार्मेसी र विराट नर्सिङ होममा सञ्चालित फार्मेसीमा छापा मारेको मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो । सो क्रममा म्याक्स इन्टरनेसनल फार्मेसी सञ्चालक दिपककुमार राय र विराट फार्मेसी सञ्चालक रोशनकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छापा मारीको क्रममा बरामद भएका औषधिसहित प्रहरीले तीनैजनालाई थप अनुसन्धानका लागि औषधि व्यवस्था विभागमा पठाउने जनाइएको छ । अनुसन्धानको क्रममा एउटा औषधिमा अर्कै लेबल लगाएर बेच्ने गरिएको खुलेपछि प्रहरीले औषधि पसलहरुमा छापा मारेको हो ।