अनुगमन गर्दा मात्र बन्द गरिन्छन् क्रसर

0
Shares

हेटौंडा, (नेस)
खोला उत्खनन् गर्न नपाएपछि स्थानीय क्रसर सडक विस्तारका क्रममा निस्किएका ढुंगामा कब्जा जमाउन थालेका छन् । सडक निर्माण गर्न छाडेर ठेकदार कम्पनी ढुंगा बिक्रीमा बढी केन्द्रित भएको देखिएको हो ।

क्रसरको यस्तो कार्यमा स्थानीय जनप्रतिनिधिले साथ दिएको दाबी गरिएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सडकको अनुगमन गर्दाको समयमात्र क्रसर बन्द गरिन्छन् । अन्य बेला क्रसर निर्वाध सञ्चालनमा आउने गरेका छन् ।

मकवानपुरको सिस्नेरीमा सडक विस्तारका क्रममा निस्किएको ढुंगा जनप्रतिनिधिको मिलेमतोमा नजिकका क्रसर उद्योगमा लैजान थालिएपछि स्थानीयले विरोध गरेका छन् ।
इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी ज्यामिरे डाँडामा सडक विस्तारका क्रममा निस्किएको ढुंगा स्थानीय जनप्रतिनिधि, ठेकेदार र क्रसर उद्योगको मिलेमतोमा क्रसर उद्योगलाई बिक्री भएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

स्थानीयका अनुसार हाल उक्त बाटो भएर सवारी सञ्चालन हुन सक्ने अवस्था छैन, बाटोमा पहिरो गएको छ । पहिरो पन्छाएर बाटो सञ्चालन गर्नुको सट्टा ढुंगा कहाँ छ भनेर खोज्दै हिँड्ने काम भएपछि आफँहरुले विरोध गरेको स्थानीयको भनाइ छ । यसबारे प्रहरीलाई जानकारी गराउँदा आफ्नो सीमा क्षेत्रमा नपर्ने भन्दै पन्छिने गरेका छन् ।

इन्द्रसरोवर–३ का अध्यक्ष चिरञ्जीवी पौडेलले स्थानीयले क्रसरमा ढुंगा लगेको भन्ने आरोप गलत भएको दाबी गर्नुभयो । वडाअध्यक्ष पौडेलले ठेकेदार कम्पनीलाई बेसका लागि आवश्यक पर्ने ढुंगा लैजान डिभिजन सडक कार्यालयबाट पत्र ल्याउन आग्रह गरिएको र तत्काललाई ढुंगा लैजान रोकिएको बताउनुभयो ।